प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको भूभागमा नेपालको हक कायम हुनुपर्छ भन्नेमा काँग्रेस प्रष्ट रहेको बताउनुभयो । उहाँले सीमाको विषयमा राष्ट्रिय एकताका साथ सम्पादन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुहुँदै काँग्रेस प्रतिपक्षी दलका रुपमा जिम्मेवार र संयमित भएर कार्य गरिरहेको बताउनुभयो । नेपालको आफ्नो भूमिमा अधिकार स्थापित गर्ने सन्दर्भमा सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्वबोध गर्दै साझा सहमति निर्माण गर्ने गरी अघि बढ्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।
प्रवक्ता शर्माले राष्ट्रियताको विषय आरोप प्रत्यारोप नभई एक ठाउँमा उभिएर राष्ट्रिय भावनालाई बलियो बनाउनु पर्ने भन्नुुहँदै नक्सा लिएर मात्रै जिम्मेवार पूरा नहुने हुँदा जमिन पनि आफ्नो हातमा ल्याउनका लागि राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कोरोना भाइरसकोको सङ्क्रमण रोक्न गम्भीर भएर अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारको प्रयास कमजोर रहेको भन्दै परीक्षणको दायरा बढाउनसमेत अपिल गर्नुभयो ।