फाइल फाेटाे

हेटाैंडा– नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिनुभयो ।

संक्रमित मध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरस संक्रमित पहिचान भएको जिल्ला ५१ पुगेको छ । देशका सात प्रदेश मध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा ४१५ र सबैभन्दा कम गण्डकी प्रदेशमा १७ जना संक्रमित छन् । बागमती प्रदेशमा भने ४४ जना संक्रमित छन् ।