पर्साको नेशनल मेडिकल कलेज, वीरगन्जमा उपचारका क्रममा यही जेष्ठ ४ गते मृत्यु भएका बाराको करैया गाउँपालिका वडा नं. ७ का ७० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएपछि नेपालमा कोरोना पुष्टि भई मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतक पुरुष ज्येष्ठ ३ गते श्वास–प्रश्वासमा समस्या आई अस्पताल भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । मृतक पुरुष टि.बीको दीर्घ बिरामी समेत रहेको प्रवक्ता डा देवकोटाले बताउनुभयो ।
यसै गरी आज थप २५ जना उपचारपछि निको भई घर फर्किएपछि कोरोना सङ्क्रमित भई निको हुनेको कूल सङ्ख्या १ सय १२ पुगेको छ । आज नारायणी अस्पताल वीरगन्ज बाट १८ जना पाटन अस्पतालबाट ५ जना टेकु अस्पतालबाट १ जना र तौलिहवाबाट १ जना गरी जम्मा २५ जना निको भई घर र फर्किएकोे प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
यसै गरी पछिल्लो पटक आज थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ । पछिल्लो पटक बर्दियाका ३ जना, काठमाडौँ, पर्सा, र अछामका १/१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
यस अगाडि आज बिहान मात्रै काठमाडौँमा ३ जना, रौतहटमा २६ जना, बारामा २१ जना, दैलेखमा ७ जना, बाँकेमा ४ जना, कपिलवस्तुमा ३ जना, धनुषामा ३ जना, बारामा २ जना, सप्तरीमा २ जना, बर्दियामा १ जना गरी कूल ७२ जना सङ्क्रमित थपिएका थिए ।
हाल सम्म नेपालमा कूल ५१ हजार ६ सय ४२ जनाको पिसीआर तथा ९५ हजार एक सय ९२ जनाको आर डी टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको पिसिआर र ५ हजार एक सय ६६ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।