मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निगरानी तथा अनुगमन समिति गठन गरिएको छ । मंगलबार वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको नेतृत्वमा ९ सदस्य निगरानी तथा अनुगमन समिति गठन गरिएको हो ।

बिश्वभर फैलीएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका समयमा विकास निर्माणको कार्य संचालन तथा कृषि उपज व्यवस्थापन गर्ने उदेश्यका साथ समिति गठन गरिएको हो । सबैको सकृय सहभागिताले लकडाउनको कार्यान्वयन गर्न तथा विकास निर्माणका कार्य सुचारु गर्न जिम्मेवारी सहितको समिति गठन गरिएको वडाअध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
कार्यविधि बनाएर वडा भित्र निगरानी र अनुगमन गर्ने गरि समिति गठन भएको भण्डारीले बताउनुभयो । समितिमा वडासदस्य सुकराम केसी, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतीवडा, उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष एवम् संतोशी टोल विकास संस्थाका अध्यक्ष कुमार पौडेल, पत्रकार बिवश अधिकारी, समाजसेवी कमला पौडेल, पुष्पाञ्जली आमा समुहकी उपाध्यक्ष सानु खड्का तथा वडाका सल्लाहाकार समेत रहनुभएका आशाकाजी श्रेष्ठ र श्याम खतिवडालाइ समितिको सल्लाहाकार चयन गरिएकाे छ ।
समितिले टोल, छिमेक, घर गाउमा कुनैपनि व्यक्ति आएको भए त्यसको निगरानी गर्ने, त्यस्तो व्यक्ति आएको छ भने को, काहाँवाट, कसरी र किन आएको हो त्यसको लगत राखी कोरेन्टाईनमा राख्ने वा टेष्ट गराउने भन्ने विषयमा र वडा कार्यालयसंग समन्वय गर्ने उहाँले बताउनुभयो । वडामा भएका विकास निर्माणका कार्यहरुमा स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरे÷नगरेको अनुगमन गर्ने, विकास निर्माणको नाममा निर्माण सामाग्रीहरु चोरी निकासी भएमा त्यस्को समेत निगरानी गर्ने र वडा कार्यालयसंग समन्वय गर्ने गरि कार्यविधि तयार भएको उहाँले बताउनुभयो ।
त्यस्तै आजकै बैठकले वडामा कामका आधारमा राहत वितरण गर्ने निर्णय समेत गरेको छ । टोल विकास को सिफारीसमा अतिआवश्यक परेकालाई मात्र दिनभरी काम गरे बापत मापदण्ड अनुसारको राहत प्रदान गरिने उहाँले बताउनुभयो । वडा स्तरीय विकास निर्माणको काममा दैनीक १० देखि ५ बजे सम्म काम गरे बापत १५ केजी चामलसहित दाल, तेल नुन,मसलालगायतका राहत उपलब्ध गराईने अध्यक्ष भण्डारीले बताउनुभयो । पहिलो चरणमा वडामा रहेका २४ वटा टोल विकास संस्थाबाट ४ जनाका दरले ९६ जनालाई काममा लगाईने समेत उहाँले बताउनुभएको छ ।