कोरोना भाइरस महामारीका कारण एक जनाको मृत्यु भएपछि बागमती प्रदेशले सतर्कता अपनाउन थालेको छ ।प्रदेश सरकार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गम्भीर भएर लकडाउनको कार्यान्वयनमा लागेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयाे ।

उहाँले प्रदेशका सबै जिल्लामा कडाईका साथ लकडाउन कार्यान्वयनका लागि निर्देशन दिएको बताउनुभयाे । कोरोना संक्रमणका कारण शनिबार नेपालमा एक सुत्केरीको मृत्यु भएको थियो । बाह्य जिल्लाबाट आएकालाई निगरानी गर्दै क्वारेन्टाइन पठाउने र परीक्षण गरी रोगको संक्रमण नदेखिए दुई साता होम क्वारेन्टाइनमा राख्ने देखिए उपचारमा समावेश गराउने गरिरहको मन्त्री जम्मकट्टेलको भनाइ छ ।

संघीय सरकारले गरेको लकडाउन नागरिकको सुरक्षा तथा प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउन भएको भन्दै उहाँले यसको पालना गर्नुपर्ने धारणा राख्नुभयाे । छिमेकी राष्ट्र भारतबाट आउने नेपाली वा भारतीय नागरिक नेपाल प्रवेशमा सीमाबाटै कडाई गर्नुपर्ने उहाँले बताउनुभयाे । उहाँले उनीहरुको स्वास्थ्य परीक्षण गरी अवस्थाको बारेमा बुझेर मात्र गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न संघीय सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयाे । संघीय राजधानी प्रवेश गर्न नदिने नीति भन्दा पनि प्रदेशमा र स्थानीय तहलाई व्यवस्थापनको लागि सहयोग गर्ने र व्यवस्थापनको बिषयमा जानकारी दिन आवश्यक रहेको मन्त्री जम्मकट्टेलले बताउनुभयाे ।

अनलाइनखबरकाे सहयाेगमा