प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएकाे बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता छ । बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ ।
पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भने भन्नेबारेमा उहाँले सत्तापक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनुहुनेछ । यस्तै पछिल्लाे समय कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारकाे भावी कदमबारे पनि बैठकमा छलफल हुनेछ ।