मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा परेको खाद्य संकट समाधानमा गैरसरकारी संस्थाले सहकार्य गर्ने भएको छ । विश्वभर कोरोना भाईरस (कोभिड–१९) का कारण विभिन्न संकट उत्पन्न भएको अवस्थामा लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले संकट समाधानका लागि उक्त गाउँपालिकालाई सहयोग गर्ने भएको हो ।
लक डाउनका कारण बिकट राक्सिराङ गाउँपालिकामा खाद्यान्नको समस्या समाधानका लागि संस्थाले सहकार्य गर्न लागेको हो । समस्या परेका समुदायलाई खाद्यान्न तथा सरसफाईका सामान बितरण गर्न गाउँपालिका र गैरसरकारी संस्थाबीच सम्झौता समेत भएको छ । संस्थाले गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ मा संचालन गरिरहेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत नै राहत बितरण गर्नका लागि गाउँपालिकासँग सम्झौता गरिएको दीगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले जानकारी दिनुभयो । सम्झौता पत्रमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र दीगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता बमोजिम साबि काँकडा गाविसतर्फ अर्थात वडा नं ६, ७ र ८ मा ७३१ घर परिवारले खाद्यान्न तथा सफाईका सामग्री प्राप्त गर्ने पौडेलले बताउनुभयो । २५ किलोग्राम चामल, ३ किलोग्राम दाल, १ किलोग्राम नुन र २ लिटर तेललगायतका सामग्री प्राप्त गर्ने उहाँले बताउनुभयो । त्यसैगरी ७३१ घर परिवारमै ५ वटाका दरले डिटोल साबुन पठाइने गरी प्याकेज बनाइएर आगामी साता बितरण गर्नेगरी सामग्रीहरुका खरिद प्रक्रिया अघि बढेको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो । ७३१ परिवारलाइ करिब १७ लाख बराबरकाे राहत वितरण गर्ने सम्झाैता भएकाे उहाँले बताउनुभयाे ।
उहाँका अनुसार संस्थाको तर्फबाट गाउँपालिका÷वडा कार्यालयलाई राहत सामग्री उपलब्ध गराइने र वडा कार्यालयले पिडित परिवार छनौट गरी जनप्रतिनिधि मार्फत भौतिक दुरी कायम गरेर राहत बितरण गरिने छ । लिसा हिमालय इभीले राक्सिराङको ६, ७ र ८ नं वडामा लामो समयदेखि शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा काम गरिरहेको छ । राहत सहयोग उपलब्ध गराउने सम्झौता भएपछि गाउँपालिका अध्यक्ष मल्लले सस्ंथाले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले विभिन्न कालखण्डहरुमा सरकारको काममा सहयोग पु¥याएको भन्दै आगामी दिनमा समेत सहयोग र सहकार्यको लागि आग्रह गनुृभयो ।