हेटौडा — छोरी, भाउजू र किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा, भाउजूलाई बलात्कार गर्ने देवर र किशोरीलाई कोठामा डाकेर बलात्कार गर्ने युवकलाई जिल्ला अदालतले मंगलबार थुनामा राख्ने आदेश दिएको हो ।
हेटौडा उपमहनगरपालिका—७ का ४२ वर्षीय बुबाले छोरीलाई पटक/पटक बलात्कार गर्दै आएका थिए । पीडा खप्न नसकी छोरीले जिल्ला प्रहरी हेटौडामा उजुरी दिएकी थिइन । उजुरी आधारमा बुबालाई गत फागुन २४ मा प्रहरीले पक्राउ गरेको थियो ।
यसैगरी, भाउजुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका देवरलाई पनि अदालतले थुनामा राख्ने आदेश दिएको छ । थाहा नगरपालिकाका ४१ वर्षीय देवरले ५४ वर्षिया विधवा भाउजुलाई गत चैत १३ गते घरमै बलात्कार गरेका थिए । त्यस्तै, किशोरीलाई कोठामा डाकेर बलात्कार गरेको आरोपमा एक युवकलाई पनि पुर्पक्षका लागि थुनामा राख्न अदालतले भनेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने २६ वर्षीय विनोद भन्ने विनोज हुमागाईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । हुमागाईले बालिकालाई हेटौडा उपमहानगरपालिका–५ स्थित आफ्नै कोठामा डाकेर गत चैत ३ मा बलात्कार गरेका थिए । उनलाई चैत ४ मा प्रहरीले पक्राउ गरेको थियो ।
साभार– इकान्तिपुर