मकवानपुर– जिल्ला समन्वय समति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बुधबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अवलोकन गर्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण विरुद्ध जिल्लाका पालिकाहरुले गरिरहेको कामका बारेमा बुझ्ने क्रममा बुधबार मकवानपुरगढी गाउँपालिका पुग्नुभएको हो ।

यस अघि हिजो मात्रै मनहरी गाउँपालिकाको अवलोकन गर्नुभएका प्रमुख खुलालले बुधबार कोराना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा राहत वितरणलगायतका सम्बन्धमा गाउँपालिकाले गरेका कामका विषयमा जानकारी लिने उद्देश्यका साथ अनुगमन गर्नुभएको हो । सो क्रममा प्रमुख खुलालले गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाई, हेल्थडेस्कलगायतको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले गाउँपालिका अध्यक्ष बिदुर हुमागाई र स्वास्थ्यकर्मीहरुसंग समेत जानकारी लिनुभएको थियो ।

सो क्रममा अध्यक्ष हुमागाईले पालिकाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सक्दो प्रयास गरेको जानकारी दिनुभयो । उहाँले गाउँपालिका प्रवेश गर्ने विभिन्न ५ वटा नाकाहरुमा हेल्थडेस्क निर्माण गरेर ज्वरो परिक्षणको व्यवस्था गरेको, दुई स्थानमा ५/५ बेडको क्वारेन्टाईन निर्माण गरेको तथा ५ बेडको आइसोलेसन वार्ड निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो । त्यस्तै बाहिरबाट आएका गाउँपालिकाभित्र २० जना रहेको र उनिहरु पुर्ण निगरानीमा रहेको साथै घरमै पुगेर ज्वरो परिक्षणको काम गरेको बताउनुभयो । त्यस्तै गाउँपालिकाका विभिन्न स्थानहरुमा हात धुने सथान निर्माण गरिएको तथा जनचेतनाको कामलाई व्यापक गरिएको जानकारी दिनुभयो ।

त्यस्तै राहत वितरणका लागि कार्यविधि निर्माण गरेर वडा कार्यालय मार्फत कुपनद्धारा वितरणको व्यवस्था गरिएकामे, राहत संकलन र वितरणमा एकद्धार प्रणली अवलम्बन गरिएको जानकारी दिनुभयो । अध्यक्ष हुमाँगाईले अहिले पर्याप्त मात्रामा थर्मल गन प्राप्त नहुँदा भने केहि समस्या भएको तर एक÷दुई दिनमै त्यो समस्या समेत समाधान हुने जानकारी दिनुभयो । उहाँले सम्पुर्ण कार्यका लागि टोल विकास समिति, राजनीतिक दललगायत सबैको साथ र सहयोग रहेको समेत जानकारी दिनुभयो ।
अनुगमनका क्रममा प्रमुख खुलालले क्वारेन्टाई तथा हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुविधाको व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अहिलेको परिस्थितीमा अग्रभागमा रहेर काम गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले यस्तो परिस्थित्मिा खटिनुहुने स्वास्थ्यकर्मीलगायत सम्पुर्ण गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले भारत लगायत तेस्रो मुलुक वा पालिका बाहिरबाट आउने व्यक्तिको निगरानी गर्न तथा त्यस्ता व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा नियमित रुपमा जानकारी लिन समेत निर्देशन दिनुभयो । सो क्रममा अध्यक्ष हुमागाईलगायत स्वास्थ्यकर्मीहरुले यस्तो अवस्थामा गरिएको अनुगमनले काम गर्न थप हौसला प्राप्त भएको बताउनुभएको थियो ।