मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनको समयका लागि उपलव्ध गराउँदै आएको पास बन्द गरेको छ । यसअघि विभिन्न क्षेत्रलाई पासको व्यवस्था गरेको थियो । तर पासको दुरुपयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो व्यवस्था गरेको हो ।
अत्यावश्यक सेवाका सवारी र प्रेसका सवारी मात्रै नियमित संचालनमा आउने भएका छन् । त्यसबाहेक अन्य क्षेत्रलाई उपलवध गराउँदै आएको पास बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न, दुग्ध तथा तरकारी पसलहरु अब दिउँसो मात्रै खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौंरले जानकारी दिए । लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न, दुग्ध र तरकारी पसल विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ने भएका छन् ।
किनमेलको बहानामा बजारमा विहान र साँझपख भिडभाड हुन थालेपछि यस्तो व्यवस्था गरिएको छ । अन्य समयमा ति पसल खोले कारवाही हुने भएको छ । दिउँसो किनमेल गर्न जाँदा समेत भिडभाड नगर्न आग्रह गरिएको छ । औषधी पसल भने सधैं खुल्ला रहने छन् । लकडाउन उल्लंघनको क्रम बढेसंगै कमाण्ड पोष्टले चहलपहलमा थप कडाई गरेको छ । लकडाउनको अवधीमा संचालनमा आएका सवारी नियन्त्रणमा लिई डकडाउन अवधी सकिएपछि मात्रै फिर्ता दिईने भएको छ ।
