मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । प्रमुख खुलालले स्थानीय तहका वडा अध्यक्ष र सदस्यहरु तथा टोल विकास संस्थाका प्रतिनिधिलाई विश्वभर महामारीकोरुपमा फैलिएको र हामी पनि ठुलो जोखिममा रहेको हुँदा कोभिड–१९ को सचेतनासंगै अनुगमन र निगरानी गर्न बिशेष आग्रह गर्नुभएको छ ।
कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधि वडा अध्यक्ष, सदस्यलगायत टोलविकास संस्थाहरुलाई आ–आफ्नो स्थानीय तहका वडाहरुमा घर÷घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलाले अग्रह गर्नुभयो । सरकारले भाइरस रोकथामका लागि गरेको लकडाउनको निर्णय पालना गराउने काममा लाग्न समेत उहाँले जनप्रतिनिधिहरुलाई बिशेष आग्रह गर्नुभएको छ ।
प्रमुख खुलालले सबै नागरिकलाई घरमै बसेर सुरक्षित रहन तथा बाहिर ननिस्कन, भिडभाडमा नजान विशेष आग्रह गर्नुभएको छ । कुनै विशेष कारणले घर बाहिर जानै परेमा कम्तीमा ३ फिटको दुरी कायम गर्न आग्रह गर्दै कोरोना आफै घर भित्र नआउने भएकाले सानो लापरवाहीले ठूलो जोखिम निम्तिन सक्ने तर्फ गम्भीर हुन आग्रह गर्नुभयो । प्रमुख खुलालले बिना काममा कोरोना लिन कै लागि घर बाहिर नजान आम सर्वसाधारण सम्पुर्णलाई सुझाव दिनुभएको छ । विशेष गरि वडा अध्यक्षहरु र सदस्यहरु तथा टोल विकासहरुलाई यस कार्यमा निगरानी तथा अनुगमन गर्नुका साथै कसैले सरकाराको निर्णयको अवज्ञा गरेमा स्थानीय प्रशासनलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।