मकवानपुर– कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन बागमती प्रदेशको राजधानी हेटौंडामा उच्च सावधानी अपनाईएको छ । कोरोना भाइरस रोकथामका लागि हेटौंडाका सरकारी कार्यालय र चोक चोकमा हातधुने व्यावस्था मिलाइनुका साथै प्रदेशका मन्त्रालय र जिल्लाका सरकारी कार्यालयमा समेत अनिवार्य हातधुने वा सेनिटाईजरको व्यावस्था मिलाइएको छ । साथै हेटौंडाको दक्षिणी सिमाबाट भित्रने यात्रुको अनिवार्य जाँचको व्यवस्था समेत व्यवस्था मिलाईएको छ, भने कार्यालयहरुमा अत्यावश्यक बहेकका सेवा बन्द गरिएको छ ।
अत्यावस्यक बाहेकका सेवा बन्द
हेटौंडामा सरकारी कार्यालयहरुबाट आईतबार देखि अत्यावस्यक बाहेकका सेवा बन्द गरिएको छ । सम्भावित संक्रमणबाट जोगिन हेटौंडाका सरकारी कार्यालयहरुमा आईतबार देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आईतबार सूचना जारी गर्दै आगामी चैत्र २१ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । सार्वजनिक सेवा बन्द भए पनि कार्यालय भने खुल्ला रहेने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभएको छ । सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी बढी भिडभाड हुन नदिने लगायतका निर्णय यसअघि नै सार्वजनिक गरी कार्यान्वयन गरिरहेको छ । यसको कार्यान्वयन मकवानपुरका स्थानीय तहहरुमा पनि भएको पाईएको छ । साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।
अनिवार्य हात धुने व्यवस्था
हेटौंडामा कार्यालय छिर्ने कर्मचारी देखि सेवाग्रहीलाई अनिवार्य हात धोएर मात्र कार्यालय छिर्ने व्यावस्था मिलाइएको छ भने आम सर्वसाधारणका लागि विभिन्न सामाजिक संघ÷संस्थाले चोकचोकमा हातधुने व्यावस्था मिलाएका छन् । आम नागरिकका लागि विभिन्न सामाजिक संघसंस्थाहरुले सचेतनाका साथै हात धुने स्थान निर्माण गरेका छन् ।
प्रदेश २ बाट हेटौंडा भित्रनेलाई अनिवार्य जाँच
कारोना भाईरसको संक्रमणको जोखिमबाट जोगिनका लागि प्रदेश २ बाट हेटौंडा भित्रने यात्रुहरुलाई अनिवार्य जाँच सुरु गरेको छ । पूर्वपश्चिम राजमार्ग भएर बागमती प्रदेश भित्रनेहरुलाई सुरक्षाकर्मीको टोलीले आइतबार साँझबाट हेटौंडा–१५ स्थित रातोमाटे चेक पोष्टमा सुरक्षा निकायको संयुक्त हेल्थ डेस्क स्थापना गरेर ‘थर्मल गन’ मार्फत जाँच सुरु गरेको छ । डेस्कले राजमार्गबाट प्रदेशभित्र भित्रने सवारीका यात्रु र चालकको जाँच गर्ने र शंका लागे थप जाँचका लागि पठाउने बताईएको छ । संयुक्त डेस्कमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् ।
बजार अनुगमनमा कडाई
विश्वव्यापी रुपमा फैलीएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमणको त्राससंगै बजारमा दैनिक उपभोग्य सामग्री आपुर्ति व्यवस्थित गर्न बागमती प्रदेश सरकारले बजार अनुगमनलाई कडाई गर्ने भएको छ । प्रदेश स्तरीय बजार अनुमन उच्च स्तरीय समितिको आईतबार बसेको बैठकले बजारमा दैनीक उपभोग्य सामग्रीको कृत्रिम अभाव सृजना गरेर मुल्यबृद्धी भएको पाईएकोले त्यसको नियन्त्रणकालागि बजार अनुगमनलाई कडाई गर्ने निर्णय गरेको छ । प्रदेशस्तरमा गठित वजार अनुमन समितिका संयोजक तथा उद्योग पर्यटन वना तथा बातावरण मन्त्री अरुण प्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले प्रदेशका १३ वटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय मार्फत स्थानीय प्रशासन, प्रहरी, उद्योगी, उपभोक्ता लगायतकाको सहभागितामा बजार अनुगमन गरिने तथा प्रदेशका सवै स्थानीय तहले वडास्तर तह सम्म अनुगमन समिति गठन गरी अनुगमनलाइ प्रभावकारी बनाउने निर्णय गरेको छ ।