मकवानपुर– बाग्मती प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी– कुलेखानी सुरुङमार्गको निर्माण कार्य आगामी २०७७ साल वैशाखबाट सुरु गर्ने भएको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले आज सुरुङमार्ग निर्माण स्थलको निरीक्षण गर्दै बाग्मती प्रदेश सरकारले गौरवको योजनामा राखेको सुरुङमार्गको निर्माण कार्य बैशाखबाट सुरु हुने जानकारी दिनुभयो ।
प्राविधिक टोलीसहित निर्माण स्थल पुग्नुभएका मन्त्री फुयालले सुरुङमार्गको प्राविधिक अध्ययनको काम भइरहेको उल्लेख गर्दै मन्त्रालयले वैशाख १ गतेबाट सुरुङमार्गको काम सुरु गर्ने गरी काम गरिरहेको बताउनुभयो । सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्धार भीमफेदीको कोलडाँडाको फेदीमा पुगेर मन्त्री फुयालले प्राविधिक अध्ययन गरिरहेको टोलीसँग कामका बारेमा जानकारी समेत लिनुभएको थियो ।
प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहालले सुरुङमार्गको डीपीआर तयार गर्नको लागि भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराउनुभएको थियो । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माणको डीपीआर अबको डेढ महिनाभित्र तयार हुने दाहालले बताउनुभयो । दाहालका अनुसार अहिले टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वेको काम भईरहेको छ । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि ४५ जना प्राविधिक खटिएका छन् । १० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टीगेशन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जनाले ड्रोन सर्वे गर्ने काममा खटिएको भूगर्भशास्त्री दाहाल जानकारी दिनुभयो ।
सुरुङमार्गको निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, पुर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायतको उपस्थिति थियो ।