काठमाडौँ – सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । मन्त्रिपरिषद्को फागुन ५ र १२ गते बसेको बैठकको निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री समेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकास करको दर परिर्वतन गरिएको र बिगत पाँच रुपैयाँ लिईंदै आएको पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइने भएको बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले बीरगंजमा बीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये छ विगाहा जग्गा बिक्री गर्न स्वीकृति दिएको, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधी दोस्रो संशोधन नियमावली स्वीकृत गरेको जानकारी गराउनुभयो । उहाँले सरकारले स्टाण्डर्ड नाप र तौल मोहरबन्द प्याकेज नियमावली २०७६ , संस्था दर्ता नवौं संशोधन नियमावली २०७६ काठमाडौं उपत्यकाका लागि वायू गुणस्तर व्यवस्थापन काययोजना २०७६ स्वीकृत गरेको पनि बताउनुभयो । मन्त्रीपषिद् बैठकले मौलाकालिका केबुलकार आयोजनाका लागि नवलपुर जिल्लाको मौलाकालिका सामुदायिक बन र मौलाकालिका धार्मिक बनको करीब तीन हेक्टर जग्गा र सिद्धार्थ केबुलकार आयोजनाका लागि बुटवल १ स्थित बन क्षेत्रको दुई हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।