मकवानपुर–हेटौंडा उपमहानगरपालिका–९ स्थित दिव्यज्योति प्राथमिक विद्यालयको ३० औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षमण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा नमुना विद्यालयका रुपमा प।िचय बनाउन सफल उक्त विद्यालयबाट अन्य सामुदायिक विद्यालयले पनि सिक्नु पर्ने बताउनुभएको छ । प्रमुख खुलालले विद्यालयमा शिक्षक अथवा विद्यालय व्यवस्थापन समितिले मात्र काम गरेर नहुने भन्दै अभिभावक पनि सचेत हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुलाई विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयमा हाल १ सय ४० जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक पुरुषोत्तम आचार्यले बताउनुभयो । कार्यक्रममा वडा सदस्य सुकराम केसि, टोल विकास संस्था वडा समन्वय समितिका संयोजक यदुवंश खतिवडा, नारायणि बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपानेलगायतको सहभागिता थियो ।