मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानिय सरकारले सामाजिक क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । अनाथ, असहाय घरबारबीहिन सडक बालबालिकाको आश्रयस्थलको रुपमा निर्माण भईरहेको मामाघर नेपालको भवनको आज अवलोकन गर्दै प्रमुख खुलालले सामाजिक विकास विना समृद्धि प्राप्त हुन नसक्ने बताउनुभयो । भौतिक पुर्वाधारलाई मात्र विकास ठान्न नहुने भन्दै उहाँले स्थानीय तहहरुले सामाजिक क्षेत्रमा त्यतिकै बजेटको व्यवस्था गर्न जरुरी रहेको औंल्याउनुभयो ।

सामाजिक क्षेत्रको विकासमा स्थानिय सकारले जनताको नजिककोे सरकारको हैसियतले बिषेश ध्यान दिनु पर्ने र त्यो स्थानीय सरकारको पहिलो कर्तव्य भएको उहाँको भनाई थियो । सडक बालकहरुको उद्दार एवम् पालनपोषण गर्दै आएको उक्त संस्थाले हेटौैंडा–११ स्थित डाङडुङेमा निर्माण गरिरहेको छ । भवन निर्माणको काम सकिएर फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । सहयोगी सिद्धिलाल श्रेष्ठले उपलब्ध गराएको ३ कट्ठा २ धुर जग्गामा मामाघरको भवन निर्माण भएको हो । ३ तले भवनमा १७ वटा कोठा र एउटा हल निर्माण भएको छ । अबलोकन पश्चात प्रमुख खुलालले सरकारले गर्ने काम एउटा व्यक्तिले गर्नु र मकवानपुरमा एउटा मानविय स्मारकका रुपमा मामाघर नेपालको संरचना खडा हुनु ठुलो कुरा भएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको सहयोग रकम नीित तथा कार्यक्रममा राखेर सधैं गर्नुपर्ने समेत बताउनुभयो ।

२०७२ सालबाट निर्माण कार्य सुरु गरिएको भवनका लागि स्पेनको फन्डाकेसन हेरेज संस्थाले एक करोड ४७ लाख ३३ हजार ६ सय २० रुपैयाँ नगद उपलब्ध गराएपछि भवन निर्माणलाई अन्तिम रुप दिन सकिएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभयो । भवन निर्माणको लागि मकवानपुरका विभिन्न संघसंस्था तथा व्यक्तिसंग ‘एक व्यक्ति एक ईट्टा’ अभियान समेत सञ्चालन गरिएको थियो । तर, पछिल्लो भवन निर्माण सम्पन्न गर्न समय केहि रकम अपुग भएकाले संस्थालाई काम अगाडी बढाउन समस्या परेको उहाँले बताउनुभयो । “अहिले हामीलाई केहि समस्या परेको छ, नयाँ भवन सम्पन्न गर्न सकेका छैनौ, पुरानो भवनबाट छोड्नु पर्ने अवस्था छ, हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको घरभाडा सहयोग समेत गत जेष्ठबाट प्राप्त गर्न सकेका छैनौं” पराजुलीले भन्नुभयो । भवन पुर्ण रुपमा निर्माण सम्पन्न गर्न अब २५ देखि ३० लाख रुपैयाँ आवश्यक रहेको समेत उहाँले बताउनुभयो । मामाघर नेपालको स्थापनादेखि हालसम्म १६२ जना बालबालिकालाई सडकबाट उद्दार गरिएको संरक्षक पराजुलीले जानकारी दिनुभयो । जसमध्ये एकसय १८ जनालाई परिवारमा पुर्नस्थापना गराएको तथा हाल संस्थामा १९ जनाले आश्रय लिइरहेको उहाँले बताउनुभयो ।