फाइल तस्विर

हेटौंडा – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायहरु बिदा हुने बताउनुभएको छ । आज रासससंग कुराकानी गर्दै मन्त्री जम्कट्टेलले उपत्यका पनि बाग्मती प्रदेशकै हिस्सा भएकोले उपत्यकामा बिदा नहुने भन्ने भनाई गलत भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हासार) का अवसरमा माघ १० गते शुक्रबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको र यो अनिवार्य लागू हुने बताउनुभयो । “यो वा त्यो जिल्ला होईन प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका पनि बागमती प्रदेशभित्रै पर्छ” उहाँले भन्नुभयो । यसअघि मन्त्रालयले एक सूचना जारीगरी प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ १० गते सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त दिन प्रदेशभर सार्वजनिक बिदा हुने जनाएको थियो ।

गृह मन्त्रालयले गत बैसाखमा प्रकासित गरेको राजपत्र अनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा सबै बन्द रहनेछन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाड , पर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ । ६ दिनभन्दा बढीको बिदामा भने केन्द्र मातहतका कार्यालयहरुलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ ।

–रासस