काठमाडौं। प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति एंव प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरुबीच चालू संसद्को अधिवेशनमा नै सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक दर्ता गराएर सहमतिका आधारमा चाँडै ल्याउने समझदारी भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङले जानकारी दिनुभयो । “चालू संसद्मा नै विधेयक दर्ता गर्ने गरेर पारित गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले आयोग सम्बन्धी कानून सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझावका आधारमा संसद्मा पेश गर्ने सहमति भएको बताउनुभयो । यसअघि विधेयक माथिको संशोधन गर्नका लागि सातै प्रदेशबाट सुझाव लिइएको थियो । नेता लेखकका अनुसार उहाँहरुबीच आयोगका पदाधिकारी नियुक्तीका सम्बन्धमा पनि छलफल भएको थियो ।

उहाँले बैठकमा दुबै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेको व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्नेमा पनि सहमति भएको जानकारी दिनुभयो । “समितिले नाम सिफारिस गर्ने बित्तिकै नाम मन्त्रिपरिषद्ले नियुक्ती गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “संशोधित कानून र पदाधिकारी नहुँदा शान्ति प्रक्रियाका काम पूरा हुन सकेका छैनन् भन्नेमा पनि छलफल भयो ।”

गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारीको नाम सरकारलाई सिफारिस गर्न सकेको छैन् । जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको हो । छलफलमा नेकपाका नेता नेम्वाङ, खिमलाल देवकोटा, काँग्रेस नेता डा मीनेन्द्र रिजाल, नेता लेखकलगायत सहभागी रहनुभएको थियो । प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष दाहाल र काँग्रेस सभापति देउवासँग आयोगका विषयमा शुक्रबार पनि छलफल गर्नुभएको थियो ।