काठमाडौँ – सरकारले पाँचौ राष्ट्रिय योग दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी सबै प्रदेश तथा स्थानीय तहहरूमा माघ १ गते देखि ७ गते सम्म प्रभातफेरी, जनचेतनामुलक कार्यक्रम तथा योग अभ्यासका विभिन्न कार्याक्रमहरू सञ्चालन गरिने जानकारी दिएको हो ।

योग दिवसका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सबै प्रदेश तथा स्थानीय तहहरूमा कार्याक्रमहरू सञ्चालन गर्न आवश्यक समन्वय तथा निर्देशन गरिसकेको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो । नेपालमा जुन २१ तारिकका दिन अन्तर्राष्ट्रिय योग दिवस र माघ १ गते राष्ट्रिय योग दिवस गरी वर्षको दुईपटक योगदिवस मनाईदै आएको छ ।