मकवानपुर– नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज (शुक्रबार) पनि बस्दैछ । शुक्रबार बिहान ११ बजेबाट बोलाइएको बैठकले जसरी पनि राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गर्ने तयारीमा रहेको एक सांसदले बताउनुभयो । अधिकांश सांसद हेटौंडाको पक्षमा आइसकेको अवस्थामा केही सांसदले अनावश्यक रुपमा अध्यक्षद्वयको निर्देशनलाई समेत लत्याउने गरी बैठकमा प्रस्तुत भएपछि हेटौंडा र वागमतीको पक्षमा निर्णय गर्दै संसदीय दलले आफ्ना सांसदलाई ह्वीप जारी गर्ने भएको हो ।
सचिवालयको निर्देशन, शिर्ष नेतृत्वको निर्देशन नै ह्वीप भएपनि संसदीय दलको बैठकमा दलका नेता मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नाममा ह्वीप जारी गर्ने तयारी गर्नुभएको बुझिएको छ । पार्टीका शिर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पटकपटक निर्देशन दिंदा पनि असन्तुष्ट रहेका केही सांसदलाई पेलेर जाने जनाइएको छ । पार्टी सचिवालयको निर्णय र निर्देशन कार्यान्वयन गर्न चार दिन बैठक बस्दा पनि सांसदहरु बीच एकमत हुन सकेको छैन । बिहीबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।
यसअघि असन्तुष्ट नेकपाका प्रदेश इन्चार्ज समेत रहेकी सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाललगायतका नेता पार्टी हाइकमाण्डको निर्देशन मान्न तयारभएपछि निर्णय गर्न सहजता भएको एक मन्त्रीले बताउनुभयो । ‘अहिले उहाँहरु पनि हेटौंडा र वागमतीको पक्षमा सहमती गराउन लाग्नु भएको छ , काभ्रेका केही सांसदले मात्र निर्देशन नमान्ने चेतावनी दिएका छन् । ह्वीप लगाएपछि सबै साथीहरु निर्देशन मान्न बाध्य हुन्छन् । नत्र अध्यक्ष ओलीले भने जस्तै कारबाहीको भागीदार हुनुपर्छ,’–उहाँले भन्नुभयो ।
पुस २७ गते आइतबार प्रदेशको स्थायी राजधानी र नामलाई प्रदेशसभा बैठकबाट टुंगो लगाउने कार्यतालिका रहेको छ । नेकपा संसदीय दलको बैठकमा आज सहमती जुटेमा मात्र २७ गते बैठकमा मतदान हुने जनाइएको छ ।