मकवानपुर– नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज (बिहीबार) हेटौंडामा बस्दै छ । यसअघि तीन दिनसम्म बैठक बस्दा पनि स्थायी राजधानीको विषयमा सहमति जुटाउन नसकेपछि स्थगित गरिएको बैठक आज पुन बस्न लागेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बिहान ८ बजे बस्ने बैठकले प्रदेश ३ को स्थायी राजधानी र नामाकरणका विषयमा निर्णय गर्ने बताईएको छ । मुख्यमन्त्री पौडेलले अब असहमतिको पाटो अन्त्य भइसकेकाले सचिवालयको निर्देशन अनुसार नै दलको बैठकमा निर्णय हुने जानकारी दिनुभयो । उहाँले पुस महिना भित्रमा प्रदेश ३ ले नाम र राजधानी पाइसक्ने दाबी समेत गर्नुभयो ।
दलको बैठकमा पार्टी सचिवालयको निर्देशन अनुसार सहमति जुटाउने प्रयास गरेपनि केही सांसदले विरोध जनाएपछि अघिल्लो बैठकले निर्णय गर्न सकेको थिएन् । बैठकमा सहमति नजुटे पछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालसहित प्रदेशका केही मन्त्री र सांसद अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका थिए । अध्यक्षद्वयले सचिवालयले गरेको निर्णय राजधानी हेटौंडा र नाम वागमती नै कायम हुने र त्यही अनुसार मत जाहेर गर्न फेरि निर्देशन दिएपछि प्रदेश कमिटीका पदाधिकारी र मन्त्रीहरु र असन्तुष्ट सांसदहरु सहमति जनाउँदै हेटौंडा फर्किएका हुन् । सोहि निर्देशन अनुसार नै आजको बैठकबाट निर्णय हुने बताईएको छ ।
यता प्रदेश ३ को स्थायी राजधानीको विषयले प्रदेश सभामा प्रवेश पाई सकेको छ । हिजो बाट सुरु भएको प्रदेश सभमा राजधानी र नामाकरणको विषयले प्रवेश पाएको हो । राजधानी र नामाकरणको विषयमा हिजो पहिलो दिन नै २१ ज्ना प्रदेश सभा सदस्यले आ–आफ्नो धारणा राखि सकेका छन्, भने आज पनि प्रदेश सभामा बाँकी सदस्यहरुले धारणा राख्ने छन् । आजको बैठक दिउसो ३ बजेकालागि बोलाईएको छ ।