सिन्धुपाल्चोक– जिल्ला समन्वय समिति (जिसस) माहासंघ प्रदेश नम्बर ३ ले प्रदेश सरकारले अगाडी सारेको सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ । जिसस मकवानपुरका प्रमुख एवम् महासंघका प्रदेश अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा बसेको महासंघको आठौं पुर्ण बैठकले प्रदेश सरकारलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश ३ सरकारले निति तथा कार्यक्रममा नै उल्लेख गरेर प्रदेशलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माण गर्ने लक्षय लिएको हुनाले प्रदेशको योजनामा सहभागि भएर जिससले पहलकदमी लिनु पर्ने निर्णय गरेको हो । प्रदेशका १३ जिल्ला मध्ये मकवानपुर जिल्ला तथा चितवनको भरतपुर र काठमान्डौं महानगरपालिका सहयोगापेक्षी सडक मानव मुक्त घोषणा भईसकेको तथा अन्य जिल्लाले प्रदेश सरकारको योजनालाई सफल बनाउने गरि काम अगाडी बढाउने निर्णय गरेको महासंघ प्रदेश अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले महासंघको आयोजनामा चितवनको सौराहामा भएको जिसस महासंघ प्रदेश ३ स्तरीय भेलाको समिक्षा भएको उहाँले बताउनुभयो । बैठकले भेला पुर्ण रुपमा सफल भएको निश्कर्ष निकाल्दै भेला सफल बनाउन सहयोग पु¥याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै बैठकले सदस्यहरुले महासंघलाई बुझाउने लेवि तुरुन्त बुझाउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दाससमेतको सहभागिता रहेको थियो ।