काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष, २०२० को काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा एकताको ज्योति प्रज्वलन गरी आज शुभारम्भ गर्नुभएको छ ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको आधारका रुपमा अंगिकार गरी राष्ट्रिय महाअभियानका रुपमा शुरु भएको नेपाल भ्रमण वर्षको सफलताको कामना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल साँस्कृतिक एवं् प्राकृतिक सम्पदाको विविधतायुक्त देश भएकाले सबैखाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनु भयो ।
राष्ट्रपति भण्डारीले पर्यटकलाई देवता समान मान्ने हाम्रो संस्कृति र परम्परालाई जोगाईराख्नुपर्ने आवश्यकता औल्याउनुहुँदै भ्रमणवर्ष सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालसँग सबैखालका पर्यटक आकर्षित गर्ने क्षमता रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि दीर्घकालिन योजनाका साथ अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले भौतिक सुविधाको विकासलाई संस्कृति र प्रकृतीसँग जोडेर पर्यटकलाई आकर्षित गर्नुपर्ने र यसलाई भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा सँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष राष्ट्रिय उत्सवको शुभारम्भ हो भन्नुहुदैं विश्वभर रहनु भएका नेपालीलाई भ्रमण वर्षमा नेपाल आउन आमन्त्रण गर्नुभयो ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्थान विन्दुका रुपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रुपमा मनाउने तयारी भइरहेको बताउनुभयो ।
नेपालको अतिथि सत्कार विश्वकै उत्कृष्ठ रहेको उल्लेख गर्नुहुदै मन्त्री भट्टराईले साँस्कृतिक विविधता र प्राकृतिक सौन्र्दयर्ताले नेपाल सबै सिजनमा भ्रमण योग्य रहेको बताउनुभयो ।
समारोमा भारत, चीन, म्यानमा र जमैकाका मन्त्री लगायतका विदेशी अतिथिहरुले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरी आज सात वटै प्रदेशमा नेपाल भ्रमण वर्ष, २०२० को भव्य रुपमा शुभारम्भ गरिएको छ ।
प्रदेश नम्बर १ को राजधानी मोरङको विराटनगर स्थित शहिद रंगशालमा आयोजित समारोहका बिच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको शुभारम्भ गर्नुभयो ।
नेपाल भ्रमण वर्ष प्रदेश नम्बर २ समितिले धनुषाको जनकपुरधाम स्थित जानकी मंन्दिरमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।
गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा एक समारोहका बिच मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्नुभयो ।
यसैगरी प्रदेश नम्बर ५ मा वर्दियाको ठाकुरद्धाराबाट भ्रमण वर्षको आरम्भ गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष २०२० को मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रुपमा प्रारम्भ गर्नुयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको धनगढीमा एक समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्नुभयो ।
भ्रमण वर्षका अवसरमा कञ्चनपुर स्थित गड्डाचौकी नाकाहुदै नेपाल आउने पर्यटकहरुलाई माला तथा खाँदा लगाएर स्वागत गरिएको छ ।
सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।