इन्द्रसरोबरमा प्याराग्लाइडिङको सफल परीक्षण

मकवानपुर– मकवानपुरमा अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को रौनक मंगलबारबाट सुरु भएको छ । जिल्लामा विविध कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको मध्ये मंगलबार व्यवसायिक प्याराग्लाइडिङको परीक्षण गरेर भ्रमण वर्षको स्वागत गरिएको छ । मकवानपुरको मानवनिर्मित इन्द्रसरोबर जलाशय किनारमा पर्यटन वर्षमा ब्यवसायीक उडान गर्नेगरी प्याराग्लाइडिङको परीक्षण तथा विविध सांस्कृतिक कार्यक्रम गरेर अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरिएको हो ।

प्याराग्लाइडिङ उडाउने विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलााल, गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलगायतले माला लगाएर स्वागत गर्नुभएको थियो ।
ईन्द्रसरोवर गाउँपालिकाले भ्रमण वर्षको स्वागतका लागि मंगलबार ईन्द्रसरोवर तालको किनारमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथै प्याराग्लाइडिङको परीक्षण गरेको हो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश नम्बर ३ मा पर्यटनको प्रचुर सम्भावना रहेको र यसको उपयोग गरेर समृद्धि हासिल गर्न सकिने बताउनुभयो । प्रदेश सरकारले पर्यटन गन्तव्यहरुको विकासकालागि विभिन्न योजनाहरु बनाएको र त्यसमा संघीय, प्रदेश र स्थानीय सरकारको हातेमालो आवश्यक रहेको बताउनुभयो । इन्द्रसरोबर प्रदेश ३ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को उत्कृष्ट पर्यटकीय गन्तब्य हो । इन्द्रसरोबर बीच तालमा रहेको टापुमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक गन्तब्य निर्माण गर्न प्रदेश सरकारले डीपीआर तयार गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताउनुभयो । ‘पोखरापछिको उत्कृष्ट गन्तब्य इन्द्रसरोबर बन्नसक्छ’, उहाँले भन्नुभयो, ‘त्यसको लागि बृहत्त योजना सहित पूर्वाधार विकासमा प्रदेश सरकारले काम गरिरहेको छ ।’
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भ्रमण वर्षको स्वागत गर्न तयारी अवस्थामा रहेको बताउनुएको छ । उहाँले मकवानपुरका पर्यटन गन्त्व्यको राम्रो संग प्रचार गर्न जरुरी रहेको औल्याउनुभयो । उहाँले पर्यटकिय क्षेत्रको प्रचार प्रसारको योजना निर्माण गरेर अगाडी बढेको समेत बताउनुभयो । प्रमुख खुलालले जिल्लाको उन्नती र प्रगतिकालागि कृषि र पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो । पर्यटनको विकासकोलागि पर्यटकलाई आकर्षित गर्ने कामलाई विशेष प्राथमिक्ता दिनुपर्ने प्रमुख खुलालको भनाई थियो । पर्यटकलाई आकर्षित गर्न सरसफाई र हाम्रो व्यवहारले महत्वपुर्ण भुमिका हुने भन्दै प्रमुख खुलालले यसमा सुधार ल्याउनु पर्ने बताउनुभएको छ ।
इन्द्रसरोबर किनारबाट करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर विशाल लामाले बताउनुभयो । ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृष्यावलोकन गर्न सकिन्छ’, उहाँले भन्नुभयो । पर्यटन वर्ष लक्षित गरी आवश्यक प्रक्रिया पुरा गरेर प्याराग्लाइडिङको ब्यवसायीक उडान गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो । ‘हामीले पर्यटन पर्वको मुख्य आकर्षणको रुपमा इन्द्रसरोबर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्छौंं’, उहाँले भन्नुभयो ‘राजधानीबाट नजिक रहेको यस ठाउँमा कम्तिमा २ दिन घुम्न र रामाइलो गर्न सक्ने पूर्वाधार विकास गर्दैछौं ।’ डुङ्गा ब्यवसायी संघ इन्द्रसरोरको तथ्याङ्क अनुसार एक सातामा करिब २ हजार आन्तरिक र बाह्य पर्यटकले इन्द्रसरोबर तालमा डुङ्गा चढेर रमाउने गरेका छन् । पर्यटन वर्षलाई लक्षित गरी यस क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको र केही बन्ने क्रममा रहेको इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बताइन् ।