मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले रक्तदान गर्नुभएको छ । मंगलबार नारायणी बहुउद्देश्यीय सहकारीको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथी खुलालले रक्तदान गर्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी हेटौंडा शाखाको सहयोगमा संस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख खुलालले आँफै रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । संस्थाको २४ औं वार्षिक उत्सव मंगलबार रक्तदान तथा विविध कार्यक्रम गरी मनाईएको हो । रक्तदान कार्यक्रममा अन्य २५ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा सहकारीले ३ जना जेष्ठ शेयर सदस्यलाई खादा, हर्लिक्स र नगद सहित सम्मान गरेको छ । संस्थाले शेयर सदस्य राम प्रसाद कोईराला, रामकृष्ण अर्याल र श्याम गुरुङलाई सम्मान गरेको हो । त्यस्तै २०७५ सालको एसईईमा ए प्लस ल्याउन सफल दिवस खतिवडा र इशान श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद देवकोटा, सदस्य नवराज अर्याल र मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलाई पनि खादा ओढाएर प्रमुख अतिथि खुलालले सम्मान गरिएको थियो ।
नारायणी बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, जिल्ला समन्वय समितिका सदस्य सिता अधिकारी, प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष राधा सिङ्तान, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here