मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्वनयुक्त पहिलो गाउँपालिकाको रुपमा घोषणा हुने भएको छ । गाउँपालिकाले बालमैत्रीका विभिन्न ३९ सुचकमा काम सम्पन्न गरेर आगामी पुस २५ गते घोषणा गर्ने तयारी गरेको हो ।

बाल मैत्री स्थानीय शासनका सुचकहरु पुरा गरेको भन्दै आईतबार गाउँपालिकाले जिल्ला समन्वय समिति मकवानपुर संग अनुमति माग गरेको छ । गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलगायतका टिमले आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसंग भेटर काम सम्पन्न गरेको तथा सोको अनुगमन गरेर घोषणा गर्ने अनुमति माग गर्नुभएको हो । भेटमा अध्यक्ष उप्रेतीले गाउँपालिकाले बालमैत्रीका सबै सुचकहरु पुरा गरेको जानकारी दिनुभएको थियो । त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बालमैत्रीका सुचकहरु पुरा गर्न गाउँपालिकाले गरेको मेहनेतको प्रशंसा गर्नुभयो । उहाँले पहिलो हुने भन्दा पनि सुचकहरुका क्षेत्रमा कतिको काम भएको छ र यसलाई दीर्घ रुपमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारे पनि ख्याल गर्नुपर्ने बताउनुभयो । भेटमा प्मुख खुलालले बालमैत्री सम्बन्धी गाउँपालिकाले गरेका कामको अनुगमन गरेर छिट्रटै अनुमति प्रदान गर्ने बताउनुयाे ।

बालमैत्री घोषणाका लागि गाउँपालिकाले विभिन्न चरणका गतिविधिहरु सञ्चालन गरी ३९ वटा सूचक पूरा गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । खासगरी गाउँपालिकामा विकराल समस्याको रुपमा रहँदै आएको बाल विवाहको न्यूनिकरण भएको तथा बाल श्रम उन्मूलन भएको तथ्याङ्क सहित पेश गरेर घोषणाकालागि जिसससंग अनुमति माग गरेको हो । बालमैत्री शासन घोषणाका लागि गाउँपालिकाले बाल अधिकार समिति, वाल क्लव, शिक्षक, विद्यार्थी, टोल विकास संस्था, व्यवसायीलगायतसँग समन्वय गरी काम गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
गाउँपालिकाले घरधुरी तथा सार्बजनिक निकायहरुको अनुगमन, भौतिक संरचनामा बालमैत्री व्यवस्था, बाल सहभागिता, बाल संरक्षण, बाल बचाउ र बाल विकासको सारतत्वलाई अवलम्बन गर्न प्रेरित गरिएको उहाँले जानकारी दिनुभयो । बालमैत्री गाउँपालिका घोषणा नेपालमै पहिलोपटक हुन लागेको हो । यसअघि सुनवल नगरपालिका र केही स्थानीय तहका वडाहरु मात्र बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त क्षेत्र घोषणा गरिएको छ । ३ नम्बर प्रदेश सरकारले पनि आगामि २०७८ सम्ममा प्रदेशलाई नै बाल मैत्री घोषणा गर्ने निर्णय गरेको संदर्भमा मनहरी गाउँपालिका प्रदेशमै पनि पहिलो हुने भएको छ ।