मकवानपुर– नेपाल राहत शिक्षक समिति मकवानपुरले विभिन्न दुईबुँदे माग राख्दै जिल्ला समन्वय समिति मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा कार्यरत अभिलेखीकरण नभएका राहत शिक्षकको तत्काल शिक्षा विकास तथा समन्वय ईकाईमा अखिलेखीकरण गरिनुपर्ने तथा अन्य शिक्षक सरह सरुवा गर्न माग गर्दै बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई ज्ञापनपत्र बुझाइएको हो ।
जिल्ला शिक्षा समितिको अध्यक्षसमेत रहेका खुलाललाई राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष हरिप्रसाद पौड्याल र सचिव विशाल अधिकारीसहितको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । सम्बन्धित विद्यालय, वडा र स्थानीय तहको सहमतिमा जिल्ला भित्रका कुनै पनि स्थानीय तह अन्तर्गतका विद्यालयमा राहत शिक्षकको पनि अन्य शिक्षक सरह नै सरुवा प्रकृया अनुसार सरुवा हुने वातावरण मलाउन समितिले जिल्ला समन्वय समिति प्रमुख खुलाललाई आग्रह गरेका छन् । हालै नेपाल सरकारले दरबन्दी मिलान सम्बन्धी कार्यपालिका स्तरमा राहत शिक्षकको समेत गणना गर्दा राज्यले राहत शिक्षक र अन्य शिक्षकहरु एउटै हुन् भन्ने तर व्यवहारमा भने विभेद गरेको राहत शिक्षक समितिको गुनासो छ । एउटै विद्यालयमा अध्यापन गर्ने अन्य शिक्षक सरहका सरुवा हुने अवसर, प्रधानाध्यापक तथा विषय विशेषज्ञ बन्न पाउने जस्ता अवसरसमेतबाट बञ्चित गरिएको भन्दै राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष हरिप्रसाद पौड्यालले राज्यले यस्तो द्वैध व्यवहार प्रस्तुत गर्न नहुने धारणा राखे । मकवानपुर जिल्लाका राहत शिक्षकको समस्या समाधान गर्दै मकवानपुरको समग्र शैक्षिक विकास र सुशासन कायम गर्ने दिशामा अघि बढ्न राहत शिक्षक समितिले सरोकारवाला निकायलाई ज्ञापनपत्रमार्फत आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझेपछि बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले राहत शिक्षकको हकहितको लागि आफू सदैव सकारात्मक रहेको प्रतिकृया जनाउनुभएकाे छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, राहत शिक्षक समिति मकवानपुरकी कोषाध्यक्ष सुमित्रा आचार्य, हेटौंडा उपमहानगरपालिका समिति संयोजक शिव वर्तौलालगायत राहत शिक्षकको सहभागिता रहेको थियो । मकवानपुरमा हाल नौ सय ४ जना राहत शिक्षक कार्यरत रहेका छन् ।