मकवानपुर– सिन्को भाँचेर र केराको पात च्यातेर सम्बन्ध विच्छेद हुन्छ भन्ने सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, मकवानपुरको राक्सिराङ गाउँपालिकामा अहिले पनि यस्तो परमपरा कायम रहेको छ । राक्सिराङका सिमान्तकृत अल्पसंख्यक चेपाङ समुदायमा अहिले पनि जन्मौं जन्म साथ बस्ने भनेर गाँसिएको सम्बन्ध सिन्को भाँचेर र केराको पात च्यातेर छिनमै समाप्त हुन्छ ।
देशमा संघीयताको अभ्यास भईरहेको छ, स्थानीय सरकारलाई व्यवस्थापकिय, कार्यपालिका र न्यायपालिका सहितको अधिकार सम्पन्न बनाईएको छ । तर पनि विकटमा बस्ने अल्प संख्यक सिमान्तकृत चेपाङ समुदायमा सिन्को भाँचेर र केराको पात च्यातेर सम्बनध विच्छेद हुने गरेको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य राम कृष्ण प्रजाले जानकारी दिनुभयो । “ पहिला पहिला लेखा पढि गर्ने मान्छे गाउँमा हुँदैन थिए, गाउँमा दुईवटा विवाह गर्ने पनि पाउन मुस्किल थियो । अड्डा अदालत भन्ने थाहा थिएन त्यसैले स्थानीयले यस्तो गर्ने गरेको उहाँले बताउनुभयो । सिङ्गो सिन्को भाचेर दुई तिर फ्याक्ने वा केराको पात च्यातेर सम्बन्ध विच्छेद गर्ने पहिलेकै परमपरा अझै पनि कायम रहेको छ । पहिला जति चाँहि छैन तर पनि अझै सिन्को भाँचेर र केराको पात च्यातेर सम्बनध विच्छेद गर्ने परमपरा कायम रहेको छ ।” प्रजाले भन्नुभयो ।
गाउँमा अहिले स्थानीय सरकार आएको छ । नजिकको न्यायलय न्यायिक समिति गठन भएको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्रहरु स्थापना गरिएको छ, टोल विकास संस्थाहरु गठन गरेर अगाडी बढेका छौं जसले गर्दा अहिले भने यस्तो परमपरा कम भएको छ । तर पनि फाट्ट फुट्ट लुकिछिपि परमपरागत तरिकाबाटै सम्बनध विच्छेद हुने गरेको उहाँले बताउनुभयो । विस्तारै समाजम चेतनाको विकास हुँदै गएको छ पहिला दुईवटा विवाह गर्ने पाउन मुस्किल थयो भने अहिले त्यो संख्या पनि कम हुँदै गएको छ हामीले जनचेतनामुलक मार्यत्रलमहरु संचालन गरेका छौं । जसले गर्दा पनि केहि कम भएको छ– प्रजाले भन्नुभयो । “हामी निर्वाचित भएर आउको ३ वर्ष पुग्नै लागेको छ, लामो समय देखिको परमपरा तोड्न केहि समय त लाग्छ नै तर हामी निरन्तर प्रयासमा छौं । उहाँले भन्नुभयो ।
घरधुरी सर्वेक्षण २०७५ अनुसार राक्सिराङ गाउँपालिकाको कुल जनसंस्या ३० हजार ७ सय ६९ रहेको छ । जस मध्ये पालिका क्षेत्र भित्र ५१.८५ प्रतिशत तामाङ, ३७.५ प्रतिशत चेपाङ, ६.१५ प्रतिशत क्षेत्री, २.५५ प्रतिशत दलित, १.५५ प्रतिशत मगर, ०.७५ प्रतिशत नेवार, ०.३५ प्रतिशत ब्राम्हण, बसोवास गर्ने गरेका छन् । तर अहिले पनि स्थानीय सरकार आएको र त्यवाट हामीले सेवा सुविधा पाउँछौं भन्ने चेतना भने विकास नभई सकेको प्रजाले बताउनुभयो । न्यायिक समितिमा २०७५÷०७६ मा कुल ४० वटा उजुरी परेका छन् । जस मध्ये हाल सम्म १६ वटा उजुरी मेलमिलापका माध्यमबाट समाधान गरिएको र मौखिक उजुरी समेत गरेर २६ वटा विवादको समाधान भईसकेको उहाँले जानकारी दिनुभयो । चेतनाकै कमिकै कारण पनि न्यायिक समिति सम्म उजुरी नआउने गरेको उहाँले बताउनुभयो ।