मकवानपुर– भ्रमण वर्ष २०२० लाई सफल बनाउने उदेश्यका साथ हेटाैंडामा (हेटौंडा रन) म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदको माध्यमबाट भ्रमण वर्षलाई सफल पार्न सहयाेग पुर्याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताका बारेमा जानकारी दिन तथा विभिन्न समिति गठन गर्न शुक्रबार हेटौंडामा पुर्व तयारी भेलाको आयोजना गरिएको छ । प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्बतीय खेलकुद महासंघ प्रदेश नम्बर ३ ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर एवम् पर्वतिय खेलकुद महासंघ प्रदेश नम्बर ३ की संयोजक मिना कुमारी लामाको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख खुलालले खेलकुदको माध्यमले पर्यटन तथा आर्थिक रुपमा समेत सवल बन्न सकिने भएकाले प्रतियोगिता आयोजना गरेर पर्यटन प्रबद्धनमा सहयोग पुग्ने बताउनुभएको छ । उहाँले प्रतियोगिताको निरन्तरता र व्यवस्थित संचालनमा ध्यान दिनसके यस्ता प्रतियोगिताले राष्ट्रलाई चिनाउन तथा पर्यटन प्रबद्धन हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, प्रदेश नम्बर ३ का खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारी, पर्वतिय खेलकुद महासंघका केन्द्रीय महासचिव संजिव पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले प्रतियोगिता आयोजना गर्न हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख कै संयोजक्त्वमा समिति समेत गठन गरिएको छ ।