दोलखा – दोलखा विगु गाँउपालिका वडा नम्बर ५ स्याँखु गाँउका दम्पति रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठलाई बोक्सा बोक्सीको आरोप सहित सामाजिक बहिष्कार गर्ने टोल सुधार समितिको अध्यक्ष रत्ननारायण श्रेष्ठलाई जिल्ला अदालत दोलखाले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायधिस कविप्रसाद न्यौपानेको इजलासले रत्ननारायण श्रेष्ठसंगै पक्राउ परेका अन्य चार जनालाई भने जनहि तीन लाख धरौटीमा छोड्ने आदेश दिएको छ । धरौटीमा छोड्न आदेश दिएको भएपनि हिरासतमा रहेका आरोपीहरु छत्रबहादुर मगर, तीर्थनारायण श्रेष्ठ, हरिध्वज मगर र श्याम भनिने बुद्धराज मगरले तोकीएको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पनि रत्ननारायणसंगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो । सोहि अभियोगमा हिरासतमा रहेका तुलबहादुर मगरलाई भने अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
गत मंसिर १ गते विगु गाँउपालिका वडा नम्बर ५ चिलंखा स्याँखु गाँउको भद्र भलाद्मी, युवा र महिलाहरु संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतिलाई बोक्सा बोक्सीको आरोप सहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरु गाँउ छोडेर सदरमुकाम हुदै काठमाडौँमा पुगेका थिए ।
पीडित दम्पतिको जेठा छोरा भाजुराम श्रेष्ठले टोलसुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ लगायत आठ जनाको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले रत्ननारायण लगायत ६ जनालाई पक्राउ गरेको थियो । रत्ननारायण श्रेष्ठ लगायत ६ जनालाई बुधवार जिल्ला न्यायधिवक्ताको कार्यालय मार्फत अदालतमा पेश गरिएकोमा विहिवार भएको थुनछेक बहस पछि अदालतले एक जनालाई पुर्पक्षको लागि थुनामा राख्ने, चार जनालाई धरौटीमा रिहा गर्ने र एक जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो ।
#अनलाइन रेडियाे नेपाल