मकवानपुर– मकवानपुर प्रहरीले अपहरणमा परेका रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ बस्ने २१ वर्षिय नरेश थापा मगरलाई सकुशल अपहरण मुक्त गरेको छ । बुधबार बिहान अपहरणमा परेका मगरलाई दिउसो प्रहरीले सकुशल अपहरण मुक्त गरेको हो ।
बुधबार बिहान करीब ३ः३० बजे हेटौंडा–४ स्थित फरेष्ट्रि गेट अगाडीबाट अपहरणमा परेका उनलाई दिउसो अपहरण मुक्त गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आज साझै पत्रकार सम्मेलन गरेर अपहरणकारीलाई सार्वजनीक समेत गरेको हो । आज बिहान बा २ ज ५९५ नम्बरको ट्याक्सीमा अम्लेखगंजबाट काठमाण्डौ जान लागेको उनलाई बा २ ज ५३५६ नम्बरको अर्को ट्याक्सीमा आएका एक समुहले अपहरण गरेका थिए ।
उनलाई कैलालीको धनगढी घर भई हाल काठमाण्डौ स्थित पुरानो बानेश्वर बस्ने २४ वर्षिय आशिष सिजापती, कन्चनपुरको श्रीपुर बस्ने बर्ष २९ वर्षिया सुनिता धामी, धादिङको नेत्रवती ढुस्जु गाउँपालिका बस्ने कृष्ण गुरुङ र सोहि स्थानका बा २ ज ५३५६ नम्बरका ट्याक्सी चालक आशिक लामाले अपहरण गरेर हेटौंडा–९ स्थित सरस्वती तामाङको घरमा बन्धक बनाएको अवस्थामा अपहरण मुक्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
अपहरणकारीले मगरसंगै बा २ ज ५९५ नम्बरको ट्याक्सीमा आएका काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–९ बस्ने २८ वर्षिय सरोज सापकोटालाई कुटपिट गरी उनलाई अपहरण गरी हेटौंडा–९ लामसुरे स्थित सरस्वती तामाङको घरमा बन्धक बनाई राखेको अवस्थामा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले अपहरण मुक्त गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
अपहरणमा संलग्नलाई अपहरण तथा शरिर बन्धक कसुरमा आवश्यक अनुसन्धान भईरहेको समेत उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । अपहरणकारीहरुलाई अपहरण तथा शरिर बन्धक कसुरमा १० बर्ष देखी १५ बर्ष सम्म कैद र १ लाख देखी १ लाख ५० हजारसम्म जरिवाना हुने कानुनी प्रवधान रहेको उहाँले जानकारी दिनुभएको छ ।