मकवानपुर– मकवानपुरगढी गाउँपालिका–२, कुर्लेदमार स्थित वंश गोपाल माविमा बुधबार समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वंशगोपाल माविको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत महिला हिंसा, साइबर क्राईम, लागू औषध विरूद्ध सचेतना तथा ट्राफिक सचेतनाका विषयमा विद्यालय सम्पर्क कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरिक्षक रूपक थापा र शिवराज गुरूङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरिक्षक नवनित कुमार झा तथा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी साहायक निरिक्षक जंग बहादुर मोक्तानले श्रव्यदृष्यको माध्यमबाट सचेतनामूलक प्रस्तुति गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा वंश गोपाल माविका विद्यार्थीहरूले सचेतनामुलक नाटक तथा लोक दोहोरी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रूम्बा, २ नम्बर वडा अध्यक्ष बखान सिंह पाख्रिन, वंश गोपाल मा.वि.का प्रधानअध्यापक लिलानाथ ढुंगेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थीहरू करीब २१५ जनाको उपस्थिति थियो ।