मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा ‘ड्रयागन फ्रुट’ खेती सुरु गरिएको छ । मकवानपुरको मनहरी–७ रमौलीका युवाहरुले जागरुग कृषि समूह गठन गरेर सामुहिक रुपमा ‘ड्रयागन फ्रुट’ खेती सुरु गरेका हुन् ।

युवाहरुको समुहले सुरु गरेको सामुहिक ड्रैगन फ्रुट खेतीको आज ३ नम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विरुवा रोपेर उद्घाटन गर्नुभएको छ । बिरुवा रोप्दै मन्त्री लामाले युवाहरुले गरेको कामको प्रसंसा समेत गर्नुभयो । उहाँले युवाहरुले अब विदेशमा हैन स्वदेशमै व्यवहायिक खेति गर्नुपर्ने धारण समेत राख्नुभएको छ । मन्त्री लामाले स्वदेशमै कृषि खेती गरेर प्रसस्त आम्दानी गर्न सकिने भन्दै सरकारले सामुहिक तथा व्यवसायिक खेती गर्नेलाई सहयोग गर्ने योजना बनाएको जानकारी समेत दिनुभयो ।

रोजगारीकालागि विदेशिएका युवाहरु स्वदेश फर्किएर सामुहिक रुपमा आधुनिक पद्धतिबाट कृषि व्यवसायमा लागेका छन् । विदेशमा भन्दा आफ्नै देशमा मेहेनत गरेर आर्थिकरुपमा सम्पन्न हुन सक्ने देखेर युवाहरुले करीब १५ कठ्ठा जमिनमा विश्व मै महँगो मानिने ‘ड्रयागन फ्रुट’ खेती व्यवसायिक रुपमा सुरु गरेका हुन् । सामान्यतः यसको मूल्य किलो कै ८ सय रुपैयाँ प्रतिकिलो देखि १ हजार रुपैयाँ प्रतिकिलोसम्म पर्ने गर्दछ । यो फल निकै स्वास्थ्यवद्र्धधक भएको र यसमा १३ प्रकारका पोषण तत्व पाइन्छ । यो फलको बिरुवा लगाएको ६ महिनामा उत्पादन सुरु हुने तथा जुनसुकै खालका दीर्घरोगीहरूका लागि पनि उपयुक्त हुने गर्दछ ।