मकवानपुर– ३ नम्बर प्रदेशका प्रदेश प्रमुख बिष्णु प्रसाईले सामुदायिक वनले अब उद्यमशिलता तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहले स्थापना गरेको टपरी उद्योगको आज उद्घाटन गर्दै प्रमुख प्रसाईले वनजंगलको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने तर्फ ध्यान दिनु पर्ने बताउनुभएको हो ।

अबको यात्रा आर्थिक समृद्धिको यात्रा भएको भन्दै प्रमुख प्रसाईले वनजंगलको प्रयोग गरेर आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो । वनजंगलमा रहेका कच्चा पदार्थको समुचित प्रयोग गरेर आर्थिक समृद्धि सम्भव रहेकाले वन्यस्रोतको परिचालनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । शनिबार वन समूहको २३ औँ बार्षिक साधारणका अवसरमा प्रमुख प्रसाईले टपरी उद्योग तथा समूहको नयाँ सामुदायिक भवनको उद्घाटन गर्नु भएको हो । उद्घाटन गरिएको टपरी उद्योगमा ७ वटा मेसिन रहेका छन् । टपरी उद्योगमा ग्रामीण समुदायका महिलाहरुका लागि स्वरोजगारी सिर्जना गर्ने आशा गरिएको सिम्पानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण उप्रेतीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, सन्तबहादुर चेपाङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, डिभिजन वन कार्यालय राप्तीका वन अधिकृत दीर्घनारायण कोइराला, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ, रामहरि सुवेदी, नवराज सुवेदी लगायतको उपस्थिती थियो ।