काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डले आज पहिलो पटक सचिवालय बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिएर प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको हो । गत मंसिर ४ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षकोकार्यबिभाजन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी हाँक्ने निर्णय गरेको थियो ।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ, नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ,’महासचिव बिष्णु पौडेलले भन्नुभयो । दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–प्रचण्डबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने गरी गत मंसिर ४ मा नेकपाले अध्यक्षद्वय ओली–प्रचण्डको कार्य विभाजन गरेको थियो ।

अस्पतालमै अध्यक्ष ओलीसँग परामर्श गर्नुभएका प्रचण्डले बैठक बोलाउनु अघि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग छलफल गरेर बैठक बोलाउनु भएको हो । अध्यक्ष प्रचण्डले मंगलबार बिहान वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ र दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बैठकबारेछलफल गर्नुभएको थियो । आज  ९ बजेपार्टीकार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले सहभागी हुनुहुने छैन ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रिय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगाएतका एजेण्डामा छलफल हुने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमणसमेत स्थगित गर्नुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!