मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्प पछि मकवानपुरमा निर्माण भईरहेका विद्यालय पुननिर्माणमा गुणस्तरीयता र पारदर्शीताका कुरामा ध्यान दिनु पर्ने बताउनुभएको छ । भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) र ट्रान्सपरेन्सी ईन्टरनेशनलको संयुक्त आयोजनामा शुक्रबार हेटौंडामा भएको विद्यालय पुनर्निर्माण सम्बन्धी अन्तरकृया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार, पुनर्निर्माण सम्बन्धी संयुक्त विद्यालय अन्तरकृया कार्यक्रममा प्रमुख खुलालले विद्यालय क्षेत्रमा रचनात्मक कुरा हुनु पर्नेमा समेत जोड दिनुभयो । विद्यालय क्षेत्रलाई रचनात्मक बनाउन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले बिशेष मुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख खुलालले सबैले पारदर्शीताका साथ काम गर्नुपर्ने र गुणस्तरमा समेत ध्यान दिएर काम गर्नुपर्ने बताउनुभएको छ । भुकम्पले विनास धनजनको क्षती गरे पनि केहि अवसर समेत प्रदान गरेको भन्दै प्रमुख खुलालले अवसरलाई सदुपयोग गर्दै बलीयो भौतिक संरचना निर्माणमा सबैले ध्यान दिनुपर्ने औल्याउनुभयो । प्रमुख खुलालले सधैं भुकम्पकै कुरा गर्नु भन्दा समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । सबै जुटेर विद्यालय पुनर्निर्माण समयमै सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो ।

भुकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्था र सम्पन्न हुन बाँकी विद्यालयका बिचमा जानकारी आदान प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो । उहाँले मकवानपुर जिल्लामा विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको
समेत जानकारी दिनुभयो । हालसम्म जिल्लामा विद्यालय व्यवस्थापन समिति मार्फत ६० प्रतिशत भन्दा बढी विद्यालयका निर्माण कार्य सम्पन्न भैसकेको उहाँले बताउनुभयो । आर्थिक बर्ष ०७३÷०७४ देखि ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समिति र विभिन्न संघ सस्था मार्फत निमार्ण भैरहेको इकाइका प्रमुख बद्री पाठकले जानकारी दिनुभएको छ ।

त्यस्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा ठेक्का मार्फत ४२ विद्यालय निर्माण सुरु गरिएकोमा हालसम्म १७ वटा निर्माण सम्पन्न भइ विद्यालयलाई हस्तान्तरण भैसकेको उहाँले बताउनुभयो । निर्माणाधिन २४ वटा विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको पाठकले बताउनुभयो । विद्यालय निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ८२ करोड ९४ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ९८ प्रतिशत रकम खर्च भैसकेको समेत पाठकले जानकारी दिनुभएको छ । यस्तै जाइकाको ऋण तर्फ एक अर्ब ५१ करोड ७९ लाख रुपैयाँ विद्यालय भवन निमार्णमा खर्च भइसकेको उहाँले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख लिला गौतम, टान्परेनसी ईन्टरनेशनलकी जिल्ला कार्यक्रम संयोजक प्रमिला थिङलगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरुको सहभागिता थियो ।