१३ बुँदे सौराहा घोषणापत्र जारी

चितवन- जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ को दुईदिने भेला सौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चितवनको सौराहामा भएको भेलाले संघ र प्रदेश सरकारसंग विभिन्न माग सहितको १३ बुँदे घोषणापत्र जारी गरेको हो ।

जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पनन भेलाले संविधान बमोजिमको जिल्ला सभा र जिल्ला समन्वय समितिको अधिकार स्थापित गर्दै ऐन नियम बनाउन माग गरेको छ । त्यस्तै भेलाले जिससको काम नै अनुगमन गर्ने भएकाले जिल्ला स्थित कार्यालयहरुको अनुगमन, समन्वय, निर्देशन आदि कार्यकालागि स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने, संघ र प्रदेश सरकारको स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम जिसस मार्फत पुर्ण कार्यान्वयन हुनुपर्ने, अनुगमन तथा मुल्याङ्कनमा क्रममा राम्रो देखिएमा पुरस्कृत र कमजोरी देखिएकामा कारवाही गर्ने आवश्यक कानुन सहितको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

त्यस्तै भेलाले जिससका पदाधिकारी र कर्मचारीलाई विकास निर्माण तथा सेवा प्रवाहमा सामेल हुने खालका वातावरण मिलाउन, विभिन्न मन्त्रालयवाट स्थानीय तहमा विनियोजित गरिने कार्यक्रम तथा बजेटको जानकारी जिससलाई हुनुपर्ने, योजना तर्जुमा र समिक्षामा जिससको भुमिका अनिवार्य गरिनु पर्ने व्यवस्था हुनु पर्ने, नदिजन्य तथा खानी जन्य पदार्थको उत्खनन् गर्ने प्रकृया सुरु हुनुभन्दा पहिले सम्बन्धीत स्थानीय तहले जिसससंग अनुमति लिनुपर्ने, खानी अनुगमन समिति, जिल्ला जलश्रोत समिति, गैरसरकारी संस्थाहरुको डिप्याक जिससको अध्यक्षतामा रहने गरि अविलम्ब पुर्नस्थापन गर्न आवश्यक कानुनको व्यवस्था हुनु पर्ने, जिससको आन्तरिक आयबाट आर्जन भएको रकम जिल्लासभाबाट बाँडफाँड गरि कार्यान्वयन गर्न पाउनु पर्ने, जिल्ला समन्वय समितिका सदस्यहरुको मर्यादाक्रम यथासिघ्र तोक्न, जिससको मौजदात कोषको रकम जिससको बोर्ड बैठकबाट बाँडफाँड गर्ने गरि कानुन बनाउन माग गर्नुका साथै जिसस पाल्पाका प्रमुख दयाराज बस्यालको असामयिक निधन प्रति श्रद्धञ्जली व्यक्त गर्दै प्रस्ताव पास गर्ने निर्णय गरेको छ ।
भेलामा महासंघका केन्द्रिय केन्द्रिय अध्यक्ष सिता कुमारी सुन्दास, उपाध्यक्ष सन्तमान तामाङ्ग, केन्द्रिय प्रवक्ता नवराज गेलाल, मुख्यमन्त्री पौडेलका राजनैतिक सल्लाहाकार जगन्नाथ थपलिया, नगरपालिका महासंघ प्रदेश ३ अध्यक्ष भरत वहादुर केसी, रत्न नगर नगरपालिका मेयर नारायन वनलगायत प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, सदस्यहरु तथा जिल्ला समन्वय अधिकारीहरुको सहभागिता रहेको थियो ।