मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा उपमहानगरपािलका –१७ हटिया स्थित जुरेथुम डाँडालाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । जुरेथुममा निर्माणधिन ४२ फिट अग्लो कृष्णको पूर्ण कदको मुर्तिकाे बिहीबार अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

जुरेथुम डाँडाबाट हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तर जुरेथुममा पर्यटन विकासको लागि करिब ७ वर्षअघिदेखि हटिया जुरेथुम पर्यटकीय क्षेत्र विकास समिति लागिपरेको तर काम प्रभावकारी नभएकाले मुख्यमन्त्री पौडेलले बिहीबार स्थलगत अवलोकन गर्नुभएको हो ।

करीब ४० बिगाहा क्षेत्रफलमा फैलिएको सामुदायिक वनको सो क्षेत्रको आकर्षक पक्ष भगवान कृष्णको पूर्ण कदको मूर्ति हो । ४२ फिट अग्लो कृष्णको मूर्ति नेपालकै सबैभन्दा ठूलो मूर्ति भएको निर्माणपक्षको दाबी समेत छ । तर, विभिन्न कारणले मुर्ति निर्माणको काम सम्पन्न गर्न सकिएको छैन् । निर्माणको काम अगाडी बढ्न नसकेकाले मुख्यमन्त्री पौडेलले त्यसमा चाँसो दिनुभएको हो । उहाँले उक्त क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने र त्यसकालागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

अवलोकनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उक्त क्षेत्रको विकासकालागि स्थानीयहरु लाग्नु पर्ने बताउनुभयो । आवश्यक रकम प्रदेश सरकारले प्रदान गर्ने तथा उक्त क्षेत्रको उपयोगिता र दिगोपनालाई स्थानीयले ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले सबैको साथ र सहयोगमा सो क्षेत्रको विकास गर्न सकिने बताउनुभएको हो । अवलोकनमा १७ नम्बर वडा अध्यक्षलगायत स्थानीयको सहभागिता थियो ।