मकवानपुर- मकवानपुरमा उत्पादित किवीमा बिषदिको मात्रा अत्यन्त न्युन रहेको पाइएको छ । शुक्रबार मकवानपुरको थाहा नगरपालिकामा उत्पादित फलको राजा मानिने किवीमा गरिएको परिक्षणमा बिषदि अत्यन्त न्युन रहेको पाईएको हो ।

कृषि ज्ञान केन्द्र ललितपुरद्धारा थाहा नगरपालिका पहिलो पटक उत्पादित किविमा बिषादिको मात्रा परिक्षण गरिएको थियो । परिक्षण पश्चात बिषादिको मात्रा अत्यन्तै न्युन पाईएको हो । अत्यन्तै पोषिलो स्वस्थ्यबर्धक फल किवीको थाहा नगरपालिकामा उत्पादन सुरु भएको छ । उत्पादन सुरु भए पछि स्थानीय कृषकले आफ्नो उत्पादनको परिक्षण गराएका हुन् । त्यहाँ उत्पादित किवि अहिले काठमाडौ, हेटौडा र चितवनका बजारमा व्यापक माग रहेको छ ।

थाहा नगरपालिकामा रातो र हरियो गरि दुई प्रकारका किवीको खेती गरिएको छ । अहिले हरियो किवी उत्पादन भएका छन् । बजारमा किबीको माग बढेसँगै करिब दुई हजार बोटबाट किबी उत्पादन हुँदै आएकोमा पछिल्लो समय वज्रवाराही, दामन, पालुङ, अघोर, कोगटेलगायतका स्थानमा थप किबी फलका बोट लगाइएको छ ।

नेपालमा आधा दर्जनभन्दा बढी जातका किबी फल लगाइँदै आएको छ । रातो किबी फल गत वर्ष वज्रवाराहीमा १५० केजी उत्पादन भएकोमा स्थानीय बजारमा आठ सय ग्रामको प्याकेटको खुद्रा मूल्य ३५० रुपियाँमा बिक्री गरिएको थियो । अहिले पनि किवीको राम्रो मुल्य पाएको स्थानीयले बताएका छन् ।