मनहरी– ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समिति मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा संचालित क्रसर तथा बालुवा प्लान्टहरुको शुक्रबार अनुगमन गरेको छ । जिल्ला अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा क्रसर उद्योग तथा बालुवा उद्योगहरुको अनुगमन गरिएको हो ।

ढुंगा, गीट्टी, बालुवा (नदिजन्य) पदार्थको व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएको अवस्थामा जिल्लामा संचालित क्रसर तथा बालुवा प्लान्टहरु मापदण्ड अनुसार संचालन भए नभएको भन्ने विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा मनहरी गाउँपालिका वडा नं ८ मा रहेका अनुगमन टोलीले मनहरी स्थित अशोक बालुवा उद्योग, चतुर्मुखी क्रसर उद्योग, जनसेवा क्रसर उद्योग र ज्यामिरेको स्वस्तिक क्रसर उद्योग, हेटौंडा उपमहानगरपालिकाको दिपज्योती क्रसर उद्योगलगायतको अनुगमन गरेका हो । अनुगमनका क्रममा बगरबाट अनाधिकृत रुपमा ग्रेबल झिकेको, होडीङ्बोर्ड नराखेको, मुल्यसुची नराखेको, क्रसरले चर्चेको जमिनमा तारबार नगरेको पाईनुका साथै क्रसर उद्योगहरुले अनियमित रुपमा उत्खनन् गरेको र सार्बजनिक जग्गा मिचेर सार्वजनीक सम्पतिको दुरुपयोग गरेको पाईएको छ ।

अनुगमन टोलीले उद्योग सुधार गर्न निर्देशन दिएको छ । एक महिनाभित्र उत्खनन् गरिएको खाल्डाहरुको व्यवस्थापन र दुरुपयोग गरिएको सार्बजनिक जग्गा खाली गर्न तथा सो सम्वन्धी जानकारी जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएको छ । साथै स्थानीय तहलाई अटेर गरेर उद्योग सुधार नगरे क्रसर उद्योगहरु चल्नै नदिने चेतावनी अनुगमन समितिले दिएको छ ।

अनुगमन टोलीमा जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, समन्वयय अधिकारी कपिल प्रसाद उपाध्याय तथा सुरक्षा निकायका प्रमुखहरुसहितको टोलीले क्रसर तथा बालुवा उद्योगहरुको अनुगमन गरेको हो ।