हेटोंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाउन आव्हान गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज प्रदेश सरकारद्वारा आयोजित मुख्य न्यायधिवक्ता कार्यालयको संयोजनमा संविधान र संविधानवाद बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले उक्त आव्हान गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले जनताको संघर्ष र वलिदान मार्फत बनेको संविधान प्रति गर्व गर्नुपर्ने धारणा राख्नुभयो । संविधानले स्थापित गरेको मान्यतालाई अक्षरस पालना गर्न सके वर्तमान व्यवस्था मजवुत हुने उहाँको भनाई थियो । उहाँले केन्द्र सरकारले घोषणा गरे झै प्रदेश सरकारले पनि संविधान दिवसलाई राष्ट्रिय पर्व वा उत्सवको रुपमा मनाउने बताउनुभयो । मुख्यमन्त्री पौडेलले कार्यक्रमलाई सामान्य नबुझीकन हजारौं जनताको त्याग, तपस्या र वलिदानको उपजको रुपमा बुझ्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का मुख्य न्यायाधिवक्ता ओम प्रसाद थपलियाले नयाँ संविधानले नागरिकको सबै अधिकार स्थापित गरेको धारणा राख्नुभयो । संबिधान दिवसलाई भव्य रुपमा मनाउन पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चन्द्र प्रसाद गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा उच्च अदालतल पाटन, हेटौंडा इजलासका प्रमुख भइ काम गर्नुहुने न्यायाधिश टेकराज नेपालले नेपाली जनाताले चुनेका प्रतिनिधिहरुले निर्माण गरेको वर्तमान संविधान उत्कृष्ठ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का कानूनविदहरु, कानूनको बिषयको अध्यापन गराइरहेका विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक विद्यार्थी लगायतले संविधानका विभिन्न धारा र तिनले ब्यवस्था गरेका प्रावधान तथा वर्तमान संविधानले उपलब्ध गराएका अधिकारहरुका सम्बन्धमा आ आफ्नो धारणा राख्नुभएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उच्च अदालत पाटन हेटौडाका न्यायधिस टेकराज नेपाल लगायतकाको सहभागिता रहेको थियो ।