हेटौंडा– नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । तीजको अवसरमा एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ–“ सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन् । बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।”
उहाँले तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भइ “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिवद्ध रहेको समेत बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले हरितालिका तीज पर्वले हामी सबैमा साँस्कृतिक तथा पारिवारिक, सामाजिक एकता र सम्वन्ध थप सुमधुर बनाउन सहयोय पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।