हेटौंडा- आगामी मंसीरमा नेपालमा आयोजना हुने १३औं सागका लागि कुस्ती तर्फ २८ जना खेलाडीहरु छनोट भएका छन् । बिगत १ महिना देखि हेटौंडामा जारी प्रशिक्षणबाट १४ पुरुष र १४ महिला गरि २८ जना खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् ।

देशभरबाट छनौट भएका कुस्तीका २० महिला र २० पुरुष गरि ४० जना खेलाडीहरु बिगत १ महिनादेखि हेटौंडामा बन्द प्रशिक्षणमा रहेका थिए । दोस्रो चरण प्रवेशका लागि शनिबार भएको छनोट प्रतियोगिताबाट १४ पुरुष र १४ महिला गरि २८ जना खोलाडी छनोट भएको नेपाल कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स खानले जानकारी दिनुभएको छ । अब दोस्रो चरणको बन्द प्रशिक्षणबाट छनोट भएका ७÷७ जना पुरुष र महिला खेलाडीले १३ औं सागमा प्रतिष्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो ।

कुस्तीका प्रमुख प्रशिक्षक ब्रह्देव प्रसाद यादवको नेतृत्वमा ५ जना प्रशिक्षकहरुले खेलाडीहरुलाई प्रशिक्षण दिइरनुभएको छ । बन्द प्रशिक्षणमा १२औं सागमा प्रतिस्पर्धा गरेका १ महिला र ५ पुरुष खेलाडी सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरु सहभागि रहेका छन् । यस पकिो दोस्रो चरणको बन्द प्रशिक्षण भने विदेशमा गर्ने तयारी भएको बताईएको छ । नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ, भने बाह्रौं सागबाट कुस्ती खेलमा महिलातर्फ पनि सहभागिता जनाउँदै आएको छ ।
छनौट भएका खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बधाई दिनुभएको छ । छनौट भएका खेलाडी सबैलाई उपमहानगरपालिकाको तर्फबाट जर्सी प्रदान गर्दै मेयर महतले सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।