हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशमा “एक घर, एक माछा पोखरी” सम्भव रहेको बताउनुभएको छ । केही दिन अगाडी चितवनको भरतपुरमा संचालित “बायोफ्ल्क” अर्थात प्रविधिमा आधारित व्यवसायीक माछापालनको अवलोकन गर्ने क्रममा उहाँले प्रदेशमा “एक घर, एक माछा पोखरी” अभियान अभियान संचालन गर्नुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले थोरै जग्गामा समेत संचालन गर्न मिल्ने प्रविधिमा आधारीत उक्त माछा पालन व्यवसायले कृषकलाई फाईदा पुग्ने देखिएको बताउनुभएको छ । आधुनिक प्रविधि मार्फत थोरै जग्गामा धेरै माछा पालन सम्भव रहेको उक्त ‘बायोफ्लक’ प्रविधि मार्फत माछापालन गरेर घरमै रोजगारी सृजना हुनुका साथै माछामा आत्मनिर्भर हुँदै राष्ट्रिय उत्पादकत्वमा टेवा पु¥याउन सकिने मुख्यमन्त्री पौडेलको भनाई थियो ।

प्रविधि अवलोकन गरेपछि मुख्यमन्त्री पौडेलले उक्त प्रविधिको हस्तान्तरणका बारेमा जानकारी लिनुभएको थियो । उक्त प्रविधिलाई आम किशान सम्म पु¥याउने गरि प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो । अनुगमन टोलीमा चितवनका प्रदेश सांसद विजय सुवेदी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतकाको सहभागिता रहेको थियो ।
के हो बायोफ्लक ?

जमीन नबिगारिकन सतहभन्दा माथि ट्याङ्कमार्फत बढी घनत्वमा माछा पालन गर्न मिल्ने प्रविधि हो “बायोफ्लक” । पानीमा सूक्ष्म जीव (ब्याक्टेरिया) उत्पादन गरी माछालाई बाँच्न मिल्ने वातावरण यो प्रविधिमार्फत तयार गरिन्छ । माछाले फ्लक खाने र फ्लकले प्राङ्गारिक पदार्थ खाने हुँदा यसमा जलीय पर्यावरण चक्र सन्तुलन हुन्छ । बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, तारपोलिङ, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्यक पर्दछ ।
ट्याङ्की निर्माण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ । यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ । “बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहर हुँदैन । यो प्रविधिमा पानी परिवर्तन गरिरहनु पर्दैन ।” यो प्रविधिमा थोरै जग्गा भएकाले पनि माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै पाल्न मिल्ने र निकाल्न (हार्भे्स्टिङ) सजिलो हुन्छ । जुन माछाको माग बढी छ, त्यसलाई लक्षित गरेर माछापालन गर्न सकिन्छ । माछा पाल्नकै लागि खाडल खन्न नपर्ने भएपछि जमीन बिग्रँदैन । पानीको स्रोत कम भएको ठाउँमा यो प्रविधि निकै लाभदायी हुन्छ । पहाडी भेगका साना गरामा पनि यो प्रविधिमार्फत माछापालन गर्न सकिन्छ ।

यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुन्छ । सामान्यतया पोखरीको तुलनामा कम मात्रामा दाना खुवाएर माछा उत्पादन गर्न सकिन्छ । पोखरीको हिसाबमा यो धेरै सस्तो हुन्छ । परम्परागतरूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १ सय ५० केजीदेखि ३ सय केजी मात्र माछापालन गर्न सकिने तर, यो प्रविधिमा सोही बराबरको जग्गामा ६ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ । एक कट्ठा जग्गामा तीन डायमिटरका १६ वटा ट्याङ्क अट्छ । जसले एक सिजनमा छ हजारदेखि आठ हजार केजीसम्म माछा उत्पादन गर्न सकिन्छ । माछापालनमा प्रयोग हुने ट्याङक फरक फरक साइजको हुन्छ । सामान्यतया एउटा तीन मिटर व्यासको ट्याङक रु ३० देखि ४० हजारमा तयार हुन्छ । यसमा २ सय देखि ५ सय केजी माछा हुर्काउन सकिन्छ ।
यो प्रविधिमार्फत माछापालन गर्नका लागि प्राविधिक ज्ञान आवश्यक पर्छ । ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्वको मात्रा मिलाइरहनुपर्ने हुनाले प्राविधिक ज्ञान आवश्यक पर्छ । यो प्रविधि धेरै फाइदाजनक देखिए पनि यसका चुनौतीलाई राम्रोसँग सामना गर्न सकेन भने धेरै समस्यासमेत आउन सक्छ । यसमा विशेष गरेर विद्युत् लगातार आवश्यक हुन्छ । यो प्रविधिमा सफल हुनका लागि समयको व्यवस्थापन जरुरी हुन्छ ।