हेटौंडा–३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको अपेक्षा अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रदेश सभामा सांसदहरुद्धारा उठाइएका प्रश्नको बिहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले जनआकांक्षा सम्बोधन गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको हो ।
(प्रदेश सभामा मुख्यमन्त्री पौडेलले गर्नुभएको सम्बोधनको पुर्णपाठ)–ः
माननीय सभामुख ज्यु,
माननीय सदस्य ज्युहरु,
जनताको जीवनमा परिवर्तनको महसुस गराउँदै संघिय ब्यवस्थालाई सुदृढ र प्रभावकारि बनाउनेक्रममा स्रोत र साधनको सिमिततावीच प्रदेश सरकार यहाँसम्म आईपुगेको सर्वविदितै छ । हाम्रो आफ्नै अभ्यासबाट अनुभव हासिल गर्दै संम्भावनालाई पहिल्याउन र चुनौतिको सामना गर्दै जनआकांक्षा सम्बोधन गर्न प्रदेश सरकार अथक मेहनतका साथ लागि परेको छ । यसक्रममा सदन र माननिय सदस्यहरुबाट प्राप्त सुझावहरुलाई प्रदेश सरकारले मार्गदर्शनकोरुपमा लिदै आएको छ र लिने नै छ । यस अधिवेशनकोक्रममा पनि माननीय ज्युहरुले थुप्रै विषयहरु उठाउनुभएको छ । सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसका लागि माननीय सदस्य ज्युहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु । माननिय सदस्य ज्युहरुले उठाउनुभएको विषयमा प्रवेश गर्नुअघि यस सदनमा गत जुलाई ३ देखी ७ गतेसम्म प्रदेश नं ३ सरकारको तर्फबाट भएको चिन भ्रमणको सम्बन्धमा जानकारी गराउन चाहान्छु ।
मध्य तथा पश्चिम चीन र बेल्ट एण्ड रोड अन्तर्गत पर्ने देशहरुबीच आर्थिक र व्यापारिक सम्बन्धलाई थप प्रवर्द्धन गर्ने हेतुले सन् २०१९ को जुलाई ३ देखि ७ सम्म चीनको लान्झाउ शहरमा आयोजना भएको 25th China Lanzhou Investment Trade Fair को उद्घालटन सत्रमा सहभागिता हुन र अन्य कार्यक्रम समेतका लागि गान्सु प्रान्तका गभर्नरबाट निमन्त्रणा प्राप्त भएकोमा प्रदेश सरकारको २०७६-०३-०९ नेपाल सरकारको २०७६-०३-१२ गतेको निर्णयानुसार मेरो नेतृत्वमा सात सदस्यीय टोलीले चीनको गान्सु प्रान्तको भ्रमण गर्यो ।
यसक्रममा जुलाई ३ मा भएको “New Land Port, New Hub, New Silk Road” Development Forum and Corridor Logistics Industry Promotion ” कार्यक्रमको उद्घाटन समारोहमा सहभागिता रह्यो । जुलाई ४ मा “ Attend Belt and Road Form of Top 500 Enterprises and Projects Signing Ceremony of Lanzhou City ” कार्यक्रममा प्रदेश नं ३ र चीनको गान्सु प्रान्त बीच सहयोग र साझेदारीको सम्भावनाका विषयमा उक्त सम्बोधनमा मैले जोड दिएको थिएँ । जुलाई ४ मा नै गान्सु प्रान्तका गभर्नर Tang Renjian सँग भेट गरियो । जुलाई ५ मा Gansu Natural Energy Research Institute मा भ्रमण गरियो । जुलाई ७ मा भ्रमण टोलीले Lanzhou Guangtong New Energy Automobile Co. Ltd को भ्रमण गर्यो । उक्त कम्पनीले इलेक्ट्रिक बस उत्पादन गरी देश बाहिर समेत निर्यात गर्ने क्षमता राख्ने गरेको पाइयो । प्रदेश नं।३ सरकारले प्रदेशलाई डिजेल पेट्रोलबाट चल्ने गाडीहरुलाई विद्युतीय गाडीले विस्थापित गर्ने भनी लिएको नीति अनुरुप गान्सु प्रान्तसँग समन्वय गरी उक्त कम्पनीसँग सम्झौता गरी विद्युतीय सवारी साधन आयात गर्न सकिने सम्भावना देखिएको छ ।
यस भ्रमणकोक्रममा चीनको गान्सु प्रान्त र नेपालको प्रदेश नं। ३ बीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । गान्सु प्रान्तसँग भगिनी सम्बन्ध गाँसेको यस प्रदेशले गान्सुको अत्याधुनिक कृषि प्राणाली, एकीकृत वस्ती विकास, सफा र स्वच्छ शहर निर्माण, विद्युतीय सवारी साधन र वैकल्पिक उर्जा लगायतका क्षेत्रमा सहकार्य, समन्वय, सहयोग र साझेदारी गर्दै अगाडि बढ्न सक्ने संभावनाको ढोका खुलेको गरिमामय सदनमा जानकारी गराउन चाहान्छु ।
माननीय सभामुख ज्यु,
अब म माननिय सदस्य ज्युहरुले यस गरिमामय सदनमा उठाउनुभएको विषयमा केन्द्रित हुन चाहान्छु । मनसुन सुरु भएपछि प्रदेशका विभिन्न जिल्लाहरुमा अविरल वर्षाको कारण बाढि पहिरो लगाएतका प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख ब्यक्त गर्न चाहान्छु । प्राकृतिक विपत्तिबाट हालसम्म २५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । प्रदेश सरकार मृतकप्रति हार्दिक श्रदाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना ब्यक्त गर्दछ । प्रदेश सरकारकोतर्फबाट मृतकमध्ये सत्र जनाको परिवारलाई राहतस्वरुप एक लाख निकासा गरिसकिएको र बाँकि आठ जनाको हकवाला एकिन भईनसकेकोले एकिन गरि उपलब्ध गराईने जानकारी गराउन चाहान्छु । त्यसैगरी, बाढि पहिरोबाट एकतिस जना घाईते भएको विवरण प्राप्त भएको छ । घाईतेको निशुल्क उपचारको ब्यवस्था मिलाईएको र उपचार खर्चको एकीन गरी बढीमा तीस हजार रुपैयासम्म उपलब्ध गराउने निर्णण गरिएको छ । बाढि पहिरोका कारण घरवार विहिन हुन पुगेका, उच्च जोखिममा रहेको परिवारलाई नयाँ आश्रयस्थल निर्माणका लागि बढीमा एक लाख रुपैयासम्म राहत सहयोग उपलब्ध गराउने निर्णय प्रदेश विपद् निर्दैशक समितिले गरेको छ । यस कार्यका लागि विवरण संकलन गर्ने कार्य जारी छ । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसको तर्फबाट प्रति संसद ५ दिन बराबरको पारिश्रमिक प्रदेश विपद् ब्यवस्थापन कोषमा जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारका मन्त्रीहरुबाट १०÷१० दिनको र प्रदेश अन्तर्गत कार्यरत कर्मचारीहरुबाट १÷१ दिनको पारिश्रमिक रकम जम्मा गरिएको छ । बाढि पहिरोबाट खानेपानी, सडक, विद्यालय, स्वास्थ्य केन्द्र, सिचाई लगायतका सार्वजनिक भौतिक संरचनाको क्षतिको आधारमा जिल्ला विपद् ब्यवस्थापन समितिबाट विवरण संकलन हुने क्रम जारी रहेको र क्षति एकिन गरी उपयुक्त माध्यामबाट पुननिर्माणको कार्य अगाडि बढाईने छ । यसक्रममा कान्तिराज पथ लगाएत विभिन्न सडकहरुमा पहिरोका कारण क्षति भएको छ । यि क्षतिहरुलाई यथासक्य छिटो सम्बोधन गरिने छ ।
माननीय सभामुख ज्यु,
यस अधिवेशनकोक्रममा माननीय सदस्यहरुले डेंगु रोग, चाडपर्व लक्षित बजार अनुगमन, सुरक्षा, कृषि उपजको बजारीकरण लगाएतका विषयहरु उठाउनु भएको छ । डेंगु रोग नियन्त्रणका सन्दर्भमा केहि प्रयासहरु सुरु भईसकेका छन् । स्थानिय तहसंगको सहकार्यका डेंगु रोग नियन्त्रणका लागि जनचेतनामुलक कार्य अभियानकैरुपमा सञ्चालन गरिएको छ । डेंगु रोग सार्ने लामखुटेले सामान्यतया दिउसो टोक्ने हुनाले रोग नियन्त्रणका लागि किटनाशक झुल वितरणको योजना प्रदेश सरकारले बनाउको छैन । विज्ञको सल्लाह अनुसार यसको लार्भालाई नष्ट गर्न सर्च एण्ड डिस्ट्रवय अर्थात खोजेर नष्ट गर्ने कार्यलाई प्राथमिकता दिईएको स्पष्ट पार्न चाहान्छु । चाडपर्व नजिकिदै गएको सन्दर्भमा बजार अनुगमन गरी कार्वाहि गर्ने अधिकार हाल संघिय सरकारमा मात्र छ । प्रादेशिक ब्यापार तथा ब्वसाय विधेयक प्रदेश सभामा विचाराधिक रहेको छ । सभाबाट विधेयक पारित भएपछि बजार अनुगमनलाई प्रदेश सरकारले तिव्र बनाउनेछ । चाडपर्व लक्षित गरी राजधानी र अन्य स्थान जोड्ने प्रदेशभित्रका सडकमा प्राकृतिक र अन्य कारणले अवरोध उत्पन्न हुन नदिन सुरक्षा निकायहरुसंगको समन्वयमा ब्यवस्था मिलाइएको छ ।
कृषिका सन्दर्भमा स्थानिय निकायको कृषि उपजको बजारीकरण तथा बजार ढुवानी गर्न उत्पादन स्थललाई बजारसम्म जोड्न तेह्र वटै जिल्लामा कृषि उत्पादन पकेट क्षेत्र लक्षित साना कृषि सडक निर्माण तथा मर्मत संभारका लागि सम्बन्धित मन्त्रालय मार्फत प्रकृया अगाडि बढार्ईको छ । त्यसैगरी प्रदेश सरकारको खर्च मितब्ययी बनाउन र एकीकृतरुपले प्रभावकारी सेवा प्रवाह गर्न सबै मन्त्रालय अन्र्गत संगठन तथा ब्यवस्थापन अध्ययन कार्य भईरहेको छ । माननीय ज्युहरुको एकिकृत सेवा प्रवाह सम्बन्धी जिज्ञासा समाधान हुने अपेक्षा गरेको छु ।
जनआन्दोलन र सशस्त्र द्धन्द्धका घाईतेहरुको परिचय पत्रका सम्बन्धमा स्थानिय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मार्फत विवरण अध्यावधिक गर्ने र नेपाल सरकार समक्ष सिफारिस गर्ने कार्य भइरहेको विषय तत् तत् निकायहरुबाट जानकारी प्राप्त भएको छ ।
माननीय सभामुख ज्यु,
माननीय सदस्य ज्युहरुले उठाउनुभएका अन्य विषयहरुमा समेत सरकारको ध्यानाकषर्ण भएको छ । हामी सबैको एकताबद्ध र ईमान्दार प्रयत्नबाट मात्र सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्प पुरा गर्न सकिन्छ । माननीय ज्युहरुको चासो, ध्यानाकर्षण र सुझावहरुलाई प्रदेश सरकारले पुजिंकोरुपमा ग्रहण गर्दै सम्बोधनको प्रयास गरेका छु । पुनः माननीय सदस्य ज्युहरु प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । धन्यवाद !