हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा जोड दिनुभएको छ । बुधबार थाहा नगरपालिका–७ मा रहेको सुन्दरीदेवी माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले शैक्षिक रोजगारी सृजना गर्नकालागि प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले नेपालको शिक्षा प्रणालीमा ९० प्रतिशत शिक्षा प्राविधिक हुनु पर्ने बताउनुभएको हो । जापानी सहयोग नियोग (जाइका) को ४ करोड ६ लाख बराबरको आर्थिक सहयोगमा निर्माण भएको सुन्दरीदेवी माविको भवन बुधबार उद्घाटन संगै हस्तान्तरण गरिएको थियो । कार्यक्रमको बिच सोही विद्यालयका व्यवस्थापक विनायक गोलेको शब्द रचना र सानोबाबु मुक्तानको स्वरमा सजिएको विद्यालयको परिचय गित बिमोचन समेत विमोचन गरिएको थियो । २०७५ कार्तिक देखि निर्माण सुरु भएको विद्यालयको भवन २०७७ भाद्रमा निर्माण सम्पन्न भएको हो । ९ कोठे अपाङ्गमैत्री विद्यालय भवनको निर्माण कम्पनीले सम्झौता अवधि भन्दा ६ महिना अगावै निर्माण सम्पन्न गरेको विद्यालयका व्यवस्थापक विनायक गोलेले बताउनुभयो ।