हेटौँडा- हेटौँडा क्याम्पस हेटौँडामा पूर्व विद्यार्थीहरुको भेला तथा मित्र मिलन कार्यक्रम आयोजना गरिने भएको छ । हेटौँडा क्याम्पसमा अध्ययन गरी हाल देश विदेशका विभिन्न स्थानमा विभिन्न जिम्मेवारीमा रहनुभएका क्याम्पसको स्थापना कालदेखिकै पूर्व विद्यार्थीहरुलाई समेटेर कार्यक्रम आयोजना गर्न लागिएको हो । भदौ ७ गते शनिबार बिहान ७ बजे हेटौँडा क्याम्पसको सभाहलमा हुने भेलामा सहभागी हुन सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई भेला आयोजक समितिका संयोजक मनोज पोखरेलले अनुरोध गर्नुभएको छ ।

अनुभवहरु आदानप्रदान गर्ने एवं पूर्व विद्यार्थीका सुझाव सल्लाहहरु क्याम्पस विकासमा उपयोग गरी हेटौँडा क्याम्पस र पूर्व विद्यार्थीबिच सेतुको सम्बन्ध स्थापना गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभएको छ । भेलाबाट पूर्व विद्यार्थी समाज हेटौँडा क्याम्पस समिति गठन गरिने संयोजक पोखरेलले बताउनुभएको छ ।