फाइल फाेटाे

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले ढुंगा, गीट्टी, बालुवाको बिक्रि बितरणमा रोक नलगाएको बताउनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला समन्वय समिति वा जिल्ला अनुगमन समितिले ढ्ंगा गीट्टी, बालुवा बिक्रि वितरण नरोकेको स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारी गर्दै उहाँले मकवानपुर जिल्लामा मापदण्ड अनुसार क्रसर उद्योगहरु स्थानान्तरण गर्न प्रदेश सरकारले गत असाढ मसान्त सम्म समय सिमा निर्धारण गरेको तर, निर्धारित समय सम्म क्रसर उद्योगहरु स्थानान्तरण नगरि मापदण्ड विपरित नै सोही स्थानमा चलिरहेकोले प्रदेश सरकारबाट प्राप्त गत असाढ मसान्त सम्मको समय सिमा समाप्त भएको हुँदा क्रसर उद्योगहरु श्रावण १ गते देखि स्वत बन्द हुन पुगेको जानकारी दिनुभयो । जिल्लामा रहेका कुनै पनि क्रसरहरु मापदण्ड अनुसार संचालन नभएकोभन्दै उहाँले त्यस्ता क्रसरसंचालन गर्न दिने यअ नदिने अधिकार जिसससंग नभएको समेत प्रष्ट पार्नुभएको छ । त्यस्तै स्टक सामान विक्रि गर्ने निर्णय जिल्ला समन्वय समिति वा अनुगम समितिले नगर्ने हुनाले जिल्ला समन्वय समितिले बिक्रि बितरण रोक नलगाएको जानकारी दिनुभयो । ढुंगा, गिट्टी, बालुवा व्यवस्थापन, ठेक्का सम्झौता राजस्व बुझ्ने कार्य स्थानिय तह गाउँपालिका÷नगरपालिकाको भएको हुँदा स्टक सामानको बिक्रि वितरण खुल्ला गरि नियमानुसार राजस्व बुझी स्टक सामान बिक्रि गर्ने काम स्थानीय तहकै भएको समेत समेत उहाँले जानकारी दिनुभयो । उहाँले संघीय अथवा प्रदेश सरकारको निर्देशन अनुसार मात्र जिल्ला समन्वय समितिले काम गर्ने भन्दै सोहि अनुसार हुने समेत बताउनुभयो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिससका अधिकृत भीमलाल मर्हजनलगायतकाको सहभागिता रहेको थियो ।