काठमाण्डौ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार पनि महाधिवेशनको कार्यतालिका बनाउने विषयमा छलफल भएको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले पार्टी विधानको धारा ७२ को उपधारा ४ अनुसार पार्टीको संगठनको अन्तरिम व्यवस्थाअनुसार गठन गर्ने र महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्ने विषयमा आफ्ना धारणा राखिरहेका छन् । शुक्रबार कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा।मिनेन्द्र रिजाल, एनपी साउद, जीवनबहादुर शाहीले आफ्ना धारणा राख्नुभएको थियो । यस्तै धनराज गुरु, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादव गरी ११ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो नेताहरुले पार्टीको अन्तरिम संरचना मनोनित गर्ने वा निर्वाचनबाट गर्ने भन्ने विषयमा आफ्ना धारणा राखेका थिए । यस्तै महाधिवेशन तोकिएकै समयमा गर्नुपर्नेमा अधिकांश सदस्यहरुले धारणा राखेको बैठकमा सहभागी केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । बैठक आइतबार दिउँसो १ बजे पुनः बस्नेगरी शुक्रबारको बैठक सकिएको छ ।