हेटौंडाः आर्थिक वर्ष २०७५/७६ मा हेटौंडा अस्पतालस्थित अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट ५ सय १२ जना हिंसापीडितहरुले सेवा लिएको बताइएको छ । ओसिएमसीले सोमबार वार्षिक समिक्षा गोष्ठीमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । ओसीएसमीमा आएका २ सय ७० जनालाई मनोविर्मश सेवा प्रदान गरिएको जनाइएको छ ।
ओसिएमसीको सेवा लिनेहरुमा महिला ४ सय ७६ र पुरुष ३६ जना रहेका छन् । घरेलु हिंसामा २ सय ९०, यौनजन्य हिंसामा ९७ र अन्य हिंसामा १ सय २५ जना रहेको तथ्यांक सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा ३ सय २१ जना, आर्थिक वर्ष २०७४/७५ मा ४ सय ११ जनालाई सेवा दिइएको थियो । सेवा लिनेहरुको संख्या क्रमशः वृद्धि हुँदै गएको छ । हिंसामा मकवानपुर जिल्लाको गाउँपालिका भन्दा पनि उपमहानगरपालिका तथा नगरपालिकाका मानिसहरु प्रभावित भएका छन् । गत आवमा गाउँपालिका भित्रका १ सय ४१ जना र हेटौंडा उपमहानगरपालिकाबाट ३ सय ५६ जनाले सेवा लिएका छन् । ओसीएमसीबाट हिंसामा परेकाहरुलाई पुनस्र्थापना गराउनका लागि १४ जनालाई सहयोग गरिएको छ । जसमध्ये घरेलु हिंसामा परेका ७ जना, यौनजन्य हिंसामा ६ जना र अन्य हिंसामा १ जना गरी १४ जनालाई सहयोग गरिएको छ । उनीहरुलाई ब्राखापालन, सिलाइकटाई र चटपटे व्यवसाय गर्न सहयोग गरिएको हो । समीक्षा गोष्ठीमा ओसिएमसीमा कर्मचारीको अभाव, उचित बस्ने स्थानको अभाव रहेको उल्लेख गरिएको छ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले सानो बजेटबाट पनि धेरै काम भएको भन्दै ओसिएमसीले गरेको कामको प्रशंसा गर्नुभएको छ । हिंसामा परेकाहरुलाई उचित न्याय र सहयोग गर्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो । पीडितको कुनै पनि गोप्य प्रतिवेदन चुहाउन नदिने भन्दै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिआर पौडेल, अस्पताल प्रमुख डा। प्रविण श्रेष्ठ, जिल्ला न्यायाधीवक्ता हरिप्रसाद भट्ट, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा भिमप्रसाद तिमल्सिना लगायतका विभिन्न संघ, संस्थाका प्रतिनिधीको उपस्थिति रहेको थियो ।